रेशमले आमालाई सोधेः ‘म राजनीति छाडिदिउँ ?’


काठमाडौं, ३ जेठ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफूमाथि पछिल्लो पटक भएको गैरकानूनी गिरफ्तारीले आमाको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएका छन् । आमालाई उपचार गर्न नेपालगञ्ज लिएर गएको प्रसंग उल्लेख गर्दै उनले सो क्रममा आमाले डाक्टरलाई आफू कुनै पनि विरामी नभएको तर, छोराको गिरफ्तारीको दिनदेखि निदाउन नसकेको भनी सुनाएको बताएका छन् ।

आमाको अवस्था देख्दा आफूलाई राजनीति नै छाडिदिउँ जस्तो लागेको पनि उनले बताएका छन् । बेलुकी खाना खाने बेलामा आमालाई ‘म राजनीति छाडिदिउँ ?’ भनेर सोधेको पनि उनले उल्लेख गरेका छन् । यो क्रममा आमाले ‘तैँले राजनीति छाडे थारुहरुको विजोग हुन्छ, छाड्न हुँदैन’ भनेर सम्झाएको समेत रेशमले उल्लेख गरेका छन् ।

‘काठमाडौंबाट फर्केको दिनमा आमाको फोन आयो र भन्नुभयो– छोरा’ मलाई रिंगटा लागिरहन्छ । उपचार गराउन नेपालगन्ज लान्छौं। आमाको अवस्था र वचन मैले कसरी नकार्छु र ? हिजो आमालाई लिएर जिल्ला अस्पताल बर्दिया पुगेँ । सबै परिक्षण गर्दैगर्दा आमाले डाक्टरलाई भन्नुभएछ । म बिरामी भएको हैन डा.साप । मेरो छोरा रेशम लाई पुलिसले समातेर जेल पुर्‍याएको रात देखि सुत्न सकेको छैन । मेरो निर्दोष छोरालाई किन पटकपटक समातेर जेल लान्छन् हँ ? डा.सापले भन्नुभएछ–अब लान्नन् ।’ उनले लेखेका छन्, ‘आमा कम्जोर हुनुभएको छ । आमाको अवस्था हेर्दा लाग्छ, राजनीति छोडिदिउँ। दिनभरि घोत्लिरहेँ । बेलुकि भात खाँदा आमालाई सोधेँ ( राजनीति छोडिदिउँ आमा ? मुखको गाँस चपाइसकेपछी आमाले जवाफ दिनुभयो–तैले राजनीति छोडे हामी सबै थारुहरुको बिजोग हुन्छ बा । अब त झन् छोड्नुहुन्न । त्यसपछि उहाँले भनेको शब्द म लेख्न सक्दैन ।’

चौधरीलाई गत वैशाख १७ गते विचाराधीन मुद्दाको सन्दर्भमा भनी पक्राउ गरी कारागार पठाइएको थियो । सर्वोच्च अदालतले रेशमलाई थुनामा पठाउने पत्र आधिकारिक नरहेको बताउँदै उनलाई पक्रिएर थुनामा राखेको भए छाडिदिन भन्दै फेरि कारागार कार्यलयलाई पत्र लेखेको थियो । सो दिन उनी करिब ५ घण्टा थुनामा बस्नु परेको थियो ।