देउवालाई प्रचण्डको प्रस्तावः आत्मसमीक्षा गरौं, नयाँ ढंगबाट अगाडि जाउँ


काठमाडौं, ३ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले वर्तमान सरकारले राम्रो काम नगरेका कारण यो ढाल्दा नै ठीक हुने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले राम्रो काम नगरे पनि आफूहरुको चाहनाले यो सरकार नढल्ने बताए । अहिले भ्रष्टाचार बढ्दै गएको र सुशासनको क्षेत्रमा काम नभइरहेको कुरा सत्ता साझेदार दल नेपाली कांग्रेसले बुझ्न आवश्यक रहेको उनले बताए ।

‘यो सरकारले राम्रो काम गरेको छैन, ढाल्दा ठीक हुन्थ्यो । तर, हामीले ढालेर यो सरकार ढल्दैन नि । यो सबैले बुझेको कुरा हो । कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउँछन् भने अरुले ढालेर ढल्ने कुरा हो र ? यो त कांग्रेसले बुझ्नुपर्यो नि । भ्रष्टाचार बढिरहेको छ, सुशासनको क्षेत्रमा कुनै काम भएको छैन भन्ने कुरा कांग्रेसले बुझ्नुपर्यो नि । बेथितिको जिम्मा कांग्रेसले पनि लिनुपर्ने होला नि त ?’ नेता सुवेदीले भने ।

नेता सुवेदीले वर्तमान राजनीतिक अवस्थाबारे चिन्तित भएर नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा पुगेर फोन संवाद गरेको उनले बताए । फोन संवादका क्रममा प्रचण्डले देउवालाई आत्मसमीक्षासहित नयाँ ढंगले अगाडि बढ्न प्रस्ताव गरेको पनि नेता सुवेदीले बताए ।

‘उहाँ (प्रचण्ड) जब देउवाजीको जिल्लामा जानुभयो– उहाँले भन्नुभयो हामी हिजो साथसाथै आयौं । मिलेर शान्ति सम्झौता गर्यौंं, मिलेर नै गणतन्त्र ल्यायौं । अहिले हामी एक ठाउँमा उभिन सकेका छैनौं । गणतन्त्रवादीले आत्मसमीक्षा गर्नुपर्छ, नयाँ ढंगबाट अगाडि जानुपर्छ । जनताको भावनालाई, आवश्यकतालाई सम्बोधन गरेर जानुपर्छ भन्ने विषय हुन् अध्यक्ष प्रचण्डले देउवाजीसँग गरेका कुरा,’– उनले भने ।

नेता सुवेदीले ओलीको काम आफ्नो पद बचाउने बाहेक केही पनि नरहेको बताए । वर्तमान सरकारले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको उनले बताए ।