काठमाडौं, ३ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकार ढाल्ने खेलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असफल हुने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले सरकार ढाल्ने असफल प्रयास गरिरहेको बताएका हुन् । उनले २०८४ को निर्वाचनअघिसम्म कांग्रेस–एमालेको सरकार नै रहिरहने र प्रचण्डको प्रयास सफल नह्ने बताए । सरकार ढाल्ने कुराले उल्टै प्रचण्ड हाँसोको पात्र बनिरहेको उनले बताए ।
‘उहाँ (प्रचण्ड) असफल हुनुहुन्छ । यसमा चाहीँ उहाँले काम नलाग्ने कुरा गरिराख्नु भएको छ । यो पार लाग्दैन । २०८४ सम्म उहाँले नचिताएपनि हुन्छ । उहाँले यो गर्नु व्यर्थ पनि छ । उहाँले जति यो गरिराख्नु भएको छ, त्यति हाँसोको पात्र बनिराख्नु भएको छ,’– मन्त्री दाहालले भने ।
प्रचण्डले सरकार ढाल्नेतिर नलागेर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दा नै राम्रो हुने उनको सुझाव छ । प्रचण्डले प्रधानमन्त्री केपी ओलीको चर्चा गर्नुपर्ने, केपी ओलीसँग मिल्छु वा मिल्दिनँ भन्नुपर्ने कुराको कुनै अर्थ नरहेको उनले बताए । ‘केपी ओलीको विरोध गर्नुपर्ने जरुरी के ? एमाले, कांग्रेसलगायत मिलेर सरकार बन्यो । यो संवैधानिक व्यवस्था हो । उहाँहरु कोही मिलेर सरकार बनाए पनि हुन्छ, बनाएको पनि हो । यस्तो बर्बराउँदै हिँड्नुपर्ने जरुरी छैन,’– उनले भने ।




प्रतिक्रिया