अब बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति गर्ने, डा.पौडेलको सम्भावना कति ?


काठमाडौं, ३ जेठ । नेपाल राष्ट्र बैंक विगत डेढ महिनादेखि गभर्नरविहीन छ । देशले आर्थिक संकटको सामना गरिराख्नु परेको अवस्थामा केन्द्रीय बैंकले भने गभर्नर पाउन सकिरहेको छैन । कानुनतः गभर्नको कार्यकाल सकिनु एक महिना पहिला नै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने हुन्छ । तर, कांग्रेस–एमालेसहितको दुई तिहाइ बहुमतको सरकारमा भागबण्डा नमिल्दा राष्ट्र बैंक लामो समयसम्म भगर्नरविहीन अवस्थामा रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाबीच कांग्रेसले सिफारिस गरेको मान्छे गभर्नर बनाउने सहमति जुटेको पनि लामो समय भइसकेको छ । यसबीचमा कांग्रेस सभापति देउवाले गुणाकर भट्टलाई भगर्न सिफारिस गरे । देउवाले सिफारिस गरे पनि राजीनामा स्वीकृत नहुँदा डा.भट्ट गभर्नको रेसबाट बाहिरिइसकेका छन् ।

गभर्नको रेसबाट डा.भट्ट बाहिरिएसँग देउवाले अर्थविद् डा.विश्व पौडेललाई सिफारिस गरे । पौडेल कांग्रेसका नेता हुन् । गत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा डा.पौडेललाई कांग्रेसले चितवन–१ बाट उम्मेदवार बनाएको थियो । पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालसँग हार व्यहोर्नुपरेको थियो । देउवाले गभर्नको रुपमा सिफारिस गरेको व्यक्ति दलको नेता कार्यकर्ता रहेको भनी अहिले सर्वत्र आलोचना भइरहेको छ । यद्यपि देउवा डा.पौडेललाई नै गभर्नर बनाउने मुडमा रहेको बताइन्छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका अनुसार आगामी मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्नेछ । मन्त्री दाहालले भनेझैं भएको खण्डमा नेपाल राष्ट्र बैंकले आगामी सोमबार गभर्नर पाउने छ । ‘सहमतिमा बनाउने भन्ने कुरा हो । सहमतिको लागि प्रयत्न भइराखेको छ । अब तुरुन्तै हुन्छ, लामो पनि हुँदैन । अबको क्याबिनेट बैठकमा मेरो विचारमा गभर्नर नियुक्ति हुन्छ,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै मन्त्री दाहालले भने ।