ओलीले आतङ्क मच्चाएको भन्दै कांग्रेस सांसदहरु देउवासँग फायर, बैठकमै चल्यो रुवावासी


काठमाडौं, ३ जेठ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले छानीछानी कांग्रेसका नेताहरुलाई दुःख दिइरहेको भन्दै सांसदहरुले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री ओलीको दमन रहेर सरकारमा बस्नु परेको भन्दै पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ र शंकर भण्डारी बैठकमै भावुक भएका थिए ।

एक सांसदले बताएअनुसार सहकारी ठगी प्रकरणमा १८ दिन हिरासतमा बसेर काठमाडौं जिल्ला अदालतको आदेशपछि धरौटीमा छुटेकी सांसद माया राई भने बैठकमै डाको छाडेर रोएक थिईन् । सांसद राईले ओलीले अनावश्यक रुपमा आफूहरुलाई दुःख दिने नियत राखेको सुनाईन् । सांसद मञ्जु खाणसमेत बैठकमा वर्तमान सरकारमा कांग्रेस भएको अनुभूति नै नभएको र नेता तथा कार्यकर्ताहरुलाई अनावश्यक रुपमा दुःख दिइएको गुनासो पोखिन् । ती सांसदले बताएअनुसार खाण पनि बैठकमा सुकसुक गर्दै रोएकी थिईन् ।