काठमाडौं, ४ जेठ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले सरकार भएको न्यूनतम् अनुभूतिसमेत गराउन नसकेको बताएका हुन् । उनले मुलुकमा सुशासन नरहेको र चरम निराशा बढ्दै गएको बताए ।
‘सरकार पूर्ण रुपमा फेल छ । उहाँ (ओली) ले यो देशमा सरकार छ भन्ने कुराको न्यूनतम् रुपमा पनि अनुभूति गराउन सक्नुभएको छैन । मुलुकमा सुशासन दिन सक्नु भएको छैन । भ्रष्टाचार र कुशासन झाङ्गिँदै गएको अवस्था छ । जनतामा चरम निराशाको स्थिति छ । उहाँको खाली वाकपटुतामात्रै छ,’– उनले भने ।
प्रधानमन्त्री ओलीकै कार्यशैलीका कारण वर्तमान संविधान असफलताको बाटोमा गएको र लोकतन्त्रप्रति नागरिकको मोह भंग भएको उनले बताए । अहिले जनतामा देखिएको चरम निराशा मिलिट्रीको बन्दुकभन्दा पनि खतरा हुने उनले बताए ।
‘अहिले उहाँकै कारण यो संविधान असफल हुन गइरहेको छ । उहाँकै कारणले लोकतन्त्रप्रति नागरिकहरुको मोह भंग भइरहेको छ । किनभने यो चरम निराशाको मनोविज्ञान भनेको लोकतन्त्रमा मिलिट्रीको बन्दुकभन्दा पनि बढी खतरनाक हुन्छ । अहिले ओलीजीले ड्राइभ नै गर्न सक्नुभएन,’– उनले भने ।




प्रतिक्रिया