काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार केसीले यति लामो समयसम्म नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसक्नु लाजमर्दो रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गभर्नर नियुक्ति हुन नसक्दा जनतामा राम्रो सन्देश नगएको बताएका हुन् । प्रतिनिधिसभामा पहिलो र दोस्रो पार्टी मिलेर बनेको सरकारले पनि जनताको पक्षमा काम गर्न नसकेको र हरेक कुरामा ढिलासुस्ती भइरहेको उनले बताए ।
‘गभर्नर नियुक्ति पनि धेरै बिलम्ब भयो । बलियो सरकारले डेढ महिनासम्म गभर्नर नबनाउनु भनेको लज्जाको विषय हो । जनतामा राम्रो म्यासेज गएको छैन, त्यो तत्काल हुनुपर्यो भन्ने छलफल भयो,’– उनले भने ।
तर, पनि कांग्रेसको तर्फबाट वर्तमान सरकार नढल्ने उनले बताए । त्यस्तै हिजो (शनिबार) बसेको पार्टी संसदीय दलको बैठकमा रुवावासी चलेको उनले स्वीकार गरे । सहकारी ठगी प्रकरणमा १७ दिन प्रहरीको हिरासतमा बसेर अदालतको आदेशले धरौटीमा छुटेकी सांसद माया राईले आफू कांग्रेस भएकै करण प्रतिशोध साँधिएको बताएको पनि उनले बताए । आफूमाथि प्रतिशोध साधिँदा पार्टीले केही नबोलेको भन्दै सांसद राई रोएको उनले बताए ।
‘मैले १७ दिनसम्म हिरासतमा बसेँ । मैले एक रुपैयाँ खाएको पनि छैन । स्वर्णलक्ष्मी भन्ने देखेको पनि छैन । ऋण प्रवाह, अफिसियल काम कारबाहीमा मेरो संलग्नता कहीँ पनि छैन । यस्तो अवस्थामा म कांग्रेस भएकै कारणले मैले १७ दिनसम्म हिरासतमा बस्नुपर्यो । पार्टीले बोलेन, मेरो चित्तदुखाइ छ भनेर भावनामा डुब्नुभयो । उहाँको आँसु आयो,’– उनले भने ।




प्रतिक्रिया