कान्छारामको जातीय राजनीति, भोटको मोहमा कुलमानको बचाउ


काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफूले कुलमान घिसिङको बचाउ गर्नुको पहिलो कारण तामाङहरुको भोट रहेको बताएका छन् । रामेछापमा तामाङहरुको भोट करिब ४२ हजार रहेको र कुलमान वा उनका दाजुभाइ उभिँदामात्रै पनि त्यसमा ५ हजार थपिने उनको तर्क छ । कांग्रेस संसदीय दलको बैठकबाट बाहिरिएका सांसद तामाङलाई सञ्चारकर्मीहरुले प्रश्न गरे, ‘कूलमानको किन बचाउ गर्नुभयो ?’

उक्त प्रश्नमा उनले कुलमानको बचाउ गर्नुपर्ने दुईवटा कारण पेश गरे । पहिलो कारण रामेछापबाट आफू अझै २/४ पटक चुनाव लड्ने र कुलमानको कारण भोट बढ्ने बताए । ‘कुलमानको बचाउमा लाग्नु पर्ने कारण के भनेदेखि दुईवटा कुरामा लागेको छु । एउटा अझै पनि दुई /चारचोटी रामेछापमा चुनाव उठ्नै पर्नेछ मैले । कुलमानको दाजुभाइ उभिइदिएर चुप लागेर बसे पनि मेरो ५ हजार भोट बढ्छ । झुक्याएर बोल्ने कुरा नै छैन । ४२ हजार भन्दा बढी तामाङहरु रामेछापमा छन् । आधाजस्तो हामीसँग छन् । फेरि थपिँदा मैले चुनाव जहिले पनि जित्छु, सर्लक्कै,’– उनले भने ।

साथै, बचाउमा लाग्नुको अर्को कारण चाहीँ कुलमानले राम्रो काम पनि गरेको उनले बताए । कुलमानको लागि आफू सांसद पद पनि छाड्न तयार रहेको उनकाे भनाइ थियाे । ‘कुलमानले नराम्रो काम गरेर हिँडेको भए मैले बोल्नुपर्ने कारण पनि थिएन । कुलमानको विषयमा म माननीयबाट राजीनामा दिन पनि तयार हुन्छु । मलाई त्यो मतलब नै छैन । त्यो हिसाबले मैले बोलेको,’– उनले भने ।

नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो । बर्खास्तगीमा परेका कुलमानको पक्षमा बोल्दा कान्छारामले ऊर्जा राज्यमन्त्री पद नै गुमाउनुपरेको थियो । File Photo/RN