परराष्ट्रमन्त्री राणालाई प्रभु साहको प्रश्न : नेपालको कुटनीति किन अवरुद्व भयो ?


काठमाडौं, ३० जेठ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको कुटनीति यतिवेला अवरुद्ध रहेको भन्दै सरकारको आलोचना गरेका छन् । आज (शुक्रबार) सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणालाई प्रश्न गर्दै उनले अहिले नेपालको कुटनीति किन सुस्ताएको भन्दै प्रश्न गरेका हुन् । उनले नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध पनि राख्न नसकेको टिप्पणी गरे ।

उनले भने,‘अहिलेको सरकारले किन कुटनीति चलायमान बनाउन सकेन ? अहिले हाम्रो कुटनीति नै अवरुद्ध भएको छ । भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्न किन सकिएन ?’ उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री राणाबीच नै विवाद देखिएको भन्दै त्यसको असर एनआरएनए विभाजनसम्म पुगेको भन्दै दुःख व्यक्त गरे ।

उनले प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन नसक्नुको कारणसमेत मन्त्री राणालाई सोधेका थिए । अहिलेसम्म भएका भ्रमणहरु पनि फलदायी हुन नसकेको भन्दै साहले विदेश भ्रमणको प्रभावकारिताबारे पनि प्रश्न उठाए । चीनसँग भएको बीआरआई फ्रेमवर्क सम्झौतामा कांग्रेस र एमालेबीच नै फरक फरक धारणा रहेको र त्यो सम्झौता विवादित बनेको साहले स्मरण गराए ।

साहले राजदूतहरुले काम गर्न नसकेको भन्दै प्रश्न उठाए । साहले ‘राजदूतहरु अयोग्य हुन कि योजनाविहीन बनाइएको हो ?’ भनी परराष्ट्रमन्त्री डा.आरजु राणालाई प्रश्न गरेका हुन् । उनले सरकारले. नियुक्त गर्ने राजदूतको कार्य दक्षतामा प्रश्न उठाएका छन् । विभिन्न देशमा रहेका राजदूतले आफ्ना देशको मजदुरहरुको संरक्षण गर्न नसकेको भन्दै उनले आपत्ति जनाए ।

‘हाम्रा राजदूतहरु विभिन्न देशमा छन् । उनीहरु सुतेर बसेको जस्तो देखिन्छ । तिनीहरु अयोग्य हुन कि योजना छैन ? योजना छैन भने परराष्ट्र मन्त्रालयढ के हेरेर बसेको छ । योजना दिइएको छ भने राजदूतहरु किन काम गर्दैनन् ? कामको लागि दुतावास खोलिएको हो भने के काम केही पनि देखिँदैन । नेपाली कामदारको रक्षा र संरक्षण गर्न नसक्ने, ती राजदूतहरुलाई के भन्ने ? हामीले अयोग्य राजदूत छानेका छौं कि योजनाविहीन बनाएका छौं ?’ प्रश्न गर्दै उनजले भने ।

साथै, अहिले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेको संख्या बढ्दै गएको पनि उनले बताए । तर, परराष्ट्र मन्त्रालयले कति नेपालीले नागरिकता त्यागेर विदेशी नागरिकता लिए भन्ने कुराको तथ्याङ्क नै नराखेको उनको दाबी छ । ‘जो नेपाली नागरिकता छाडेर विदेशी नागरिकता लिइराखेका छन्, त्यसको डाटा कहाँ पाउने ? कति मानिसहरुले विदेशी नागरिकता दिए ? यसको रेकर्ड परराष्ट्र मन्त्रालयसँग हुनुपर्ने हो । नेपाली नागरिकता छोडिरहेको छ, विदेशी नागरिकता दिइरहेको छ । कसले लियो, कसले छाड्यो, त्यो पनि रेकर्ड हामीसँग छैन,’– उनले भने ।

साहले नागरिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई परराष्ट्रमन्त्री राणाले धम्काएको भनेर आएको समाचारको विषयमा समेत जिज्ञासा राखेका थिए । उनले मन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले प्रेस स्वतन्त्रताको पक्षमा उभिनुपर्नेमा मिडिया र मालिकलाई नै धराशयी बनाईदिन्छु भनेर आएको समाचारको सत्यता के हो ? भन्दै मन्त्री राणासँग धारणा मागेका थिए ।