भिजिट भिसा अग्नि सापकोटासँग साट्यो भन्ने कुरा वाहियात हो, यसमा कुनै साइनो सम्बन्ध छैन : प्रचण्ड


काठमाडौं, ३१ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा माओवादीले उधारो सम्झौता नगरेको स्पष्ट पारेका छन् । उनले सदनको अवरोध खुलाउनको लागि सत्तापक्ष र आफ्नो दलबीच भएको २ बुँदे सहमतिलाई कतिपयले भिजिट भिसा र अग्नि सापकोटा साटिएको भन्ने आरोपमा कुनै सत्यता नभएको पनि दाबी गरे ।

आज (शनिबार) बिराटनगर पुगेका दाहालले यस्तो बताएका हुन् । उनले भने,‘भिजिट भिसा प्रकरण अग्निसँग साटेको कुरा विल्कुल गलत कुरा हो। वाहियताक कुरा मानिसहरूले प्रचार गरिराखेका छन्। त्यस्तो होइन। यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन।’

सत्तापक्षबाट एमालेका मुख्य सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेले सदनको अवरोध खुलाउने दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेलगत्तै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादीले अग्निसँग भिजिट भिसा साटेको आरोप लगाएका थिए ।

उनले आफूहरुले जनताको हित हेरेर सदनको अवरोध हटाएको प्रष्टीकरण दिए । एक महिनाभित्र छानबिन गरेर भिजिट भिसा प्रकरण टुँगो लगाउने समझदारी बनेकोले एक महिनासम्म हेर्ने पनि दाहालको भनाई छ । त्यतिञ्जेलसम्म कुनै सहमति नभए माओवादीले पूनः सदन अवरोध गर्ने उनको चेतावनी छ ।