भिजिट भिसा प्रकरणमा सहमति गर्नु प्रचण्डको गतिशीलता होः उपमहासचिव गजुरेल


काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले भिजिट भिसा प्रकरणमा कांग्रेस–एमाले लचिलो भएपछि सम्झौता गरिएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सदनमा अलपत्र रहेका विभिन्न विधेयकहरुमा छलफल गर्न र त्यसलाई मुर्त रुप दिन पनि संसद् खुल्नु आवश्यक भएकाले सम्झौताको बाटोमा डिँड्न परेको बताए ।

‘प्रचण्डको गतिशीलता राम्रो पक्ष हो । त्यो उहाँको कमजोरी पनि हो । अहिले माओवादीले सौदाबाजी गर्यो भन्नु गलत हो । किन यस्तो निर्णय भयो साथीहरुले भने । मैले पख्नुस् न किन यस्तो निर्णय भएको हो बुझौं भनेको छ । अलिकति राम्रो भयौ हौसिइहाल्ने, अलिकति नराम्रो भयो निराश भइहाल्ने पनि भएन । आन्तरिक कुरा पनि त बुझ्नुपर्यो नि,’– उनले भने ।

कांग्रेस–एमाले भिजिट भिसा प्रकरणमा समिति बनाउनसमेत तयार नरहेको अवस्थामा उनीहरुलाई बाध्य बनाएर सम्झौता भएको उनले बताए । नेता गजुृरेलले गृहमन्त्री राजीनामा माग्नुलाई स्वभाविक नै मान्नु पर्ने उनले बताए । अहिले सम्झौता गर्नु ठीक कि बेठीक भन्ने प्रश्नभन्दा पनि नागरिकता विधेक, शिक्षा विधेयक र नागरिकता विधेयकलाई माओवादीले प्राथमिकता दिएका उनले बताए । ‘उनीहरु समिति नै बनाउन तयार थिएनन् कांग्रेस एमाले त । छानविन गर्न र समिति बनाउन तयार भएपछि संसद् धेरै अवरोध गर्न हुँदैन । यसले अप्ठ्यारो पार्छ भन्ने बुझेर, सोचेर निर्णय भएको हो । लेनदेनको कुरा नै छैन,’– उनले भने ।

साथै, अग्नि सापकोटाको मुद्दामा भिजिट भिसा प्रकरण साटफेर भएको भन्ने आशंकामा कुनै सत्यता नरहेको उनले बताए । आफू पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग हिजो संगै यात्रा गरेको स्मरण गराउँदै उनले प्रचण्डले अग्नि सापकोटाको मुद्दाबारे कुनै संकेत नै नगरेको बताए । भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति बनाउने कुरा रहेको र भएन भने फेरि आन्दोलन अगाडि बढ्ने उनले बताए ।