काठमाडौैं, ३ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले ०८४ सालको निर्वाचनमा माओवादीको जम्मा ९ सिट आउने ठोकुवा गरेका छन् । अहिले माओवादी नेता तथा कार्यकर्ताले अध्यक्ष पुष्पकमल दाहालको श्रद्धा नभएर श्राद्ध गरिरहेको समेत थापाको टिप्पणी छ । भिजिट भिसा प्रकरणमा सदनको अवरोध खुलाउन माओवादीले २ बुँदे सहमति गरेको विषयमा थापाले यस्तो टिप्पणी गरेका हुन् ।
थापाले फेशबुकमा लेखेका छन्–
दुई बुँदे सहमतिपछि पुष्पकमल दाहालप्रचण्डको विगत छ/सात महिनादेखि पलाएको पखेटा काटिएजस्तै भएको छ। “म त असाध्यै लोकप्रिय भएँको छु” भन्दै हुलाकी र मध्यपहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दु:ख पनि धुलिसाते नै भयो। आफैलाई हेर्दै मुस्कुराउँदै दंग पर्दै गरेको ऐना पनि झर्यामझुरूम भयो – फेरि हेरेर हाँस्न र रून नमिल्ने गरी! माओवादी केन्द्रकै नेता/कार्यकर्ताले आजकल नेतृत्वको श्रद्धा होइन,श्राद्ध पो गरिरहेका छन्। अनि, २०८४ मा बहुमत नै आउने त भयो, होइन ?! तर २७५ को बहुमत १३८ होइन, ३२ को बहुमत १७ सम्म ???, १७ को बहुमत ९ त आउला भनेर कामना गरौं ।
जुनसुकै राजनीतिक पार्टीको गलत माग र जबर्जस्तीको परिणाम अन्तत: संझौता गर्दासमेत प्रचण्डकोजस्तो र अझ अघि बढ्दा त झन् रास्वपाको संसद बैठकभित्र जारी पलेंटी कसेजस्तो त हुने रहेछ । एक दिनभरि उभिएर नारा लगाउन पनि नसकी थचक्क बस्नुपर्ने र भुँईंमा निदाउनु पर्ने “बोइलर”हरूले के तमासा गर्नु बजेट छलफललाई अवरोध गरेर ? त्यसै रत्नपार्क, कलंकी र पोखराको चिप्लेढुंगामा नाराजुलुस गरेजस्तो नगरी कुर्सीमा बस्नुस् भनिएको होइन नि!




प्रतिक्रिया