काठमाडौं, ७ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमले वर्तमान सरकार प्राकृतिक हिसाबले नबनेको र यसले प्राकृतिक हिसाबले काम गर्न पनि नसकेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेसहितको गठबन्धनले सोचेअनुरुप काम गर्न नसकेको बताएका हुन् ।
‘यो गठबन्धन सफल र असफल भन्दा पनि नेचुरल कोर्शमा यो गठबन्धन बनेको पनि थिएन र नेचुरल कोर्शमा यसले काम गरेको पनि छैन । सोचेको अनुसारले परिणाम (आउटपुट) आएको छैन । नेचुरल कोर्शमा नबनेको भएर त्यतातिर जान पनि सकेन,’– उनले भने ।
नेता गौतमले वर्तमान सत्ता गठबन्धनमा करेक्सनको आवश्यकता औंल्याए । संविधान संशोधन र डेलिभरीको बाटोमा सरकार जानुपर्ने उनको भनाइ छ । उनले कांग्रेस–एमालेसहितको गठबन्धन सरकारले जनतामा आशा जगाउन नसकेको बताए । ‘जे प्रयोजनको लागि हामीले यो सरकार बनायौं, त्यतापट्टी सोचेकोजस्तो गर्न सकेन । पहिलो र दोस्रो पार्टी मिलेर बन्नु नै मैले अघिनै भनिसकेँ यो नेचुरल कोर्शमा थिएन । विशिष्ट परिस्थितिमा यो कुराको निर्माण भयो । हामीले यसलाई स्वीकार गर्यौं । तर, यसलाई गल्ती गर्ने छुट छैन । जनता खुसी छैनन्,’– उनले भने ।
उनले जनता र राजनीतिक दलबीच दुरी बढ्दै गएको बताए । समग्रतामा हेर्दा कांग्रेस–एमाले गठबन्धन व्यवस्थित नै हुन नसकेको उनले बताए । सरकार संविधान संशोधन र सुशासनको पक्षमा एक कदम पनि अगाडि बढ्न नसकेको उनले बताए । माथिदेखि तलसम्म कांग्रेस एमालेबीच तीब्र प्रतिस्पर्दा रहेको बताउँदै उनले भने, ‘माथिदेखि तलसम्म कांग्रेुस र एमालेको बीचमा तीब्र प्रतिस्पर्धा छ । आम जनताको बीचमा यी दुईवटा दलहरु एक ठाउँमा बसेर स्थिरता पनि दिन सकेनन्, विकास र समृद्धिको यात्रा पनि तय गरेनन् । संविधान संशोधन गर्नेतिर पनि यिनीहरु जाँदैनन् भने यसको उपादेयता त सिधिन्छ भन्नेमा जनता चिन्तित छन् ।’




प्रतिक्रिया