काठमाडौं, २३ असार । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुरक्षा निकायका तल्लो दर्जामा काम गर्ने सिपाहीहरुलाई घरेलु कामदारमा लगाईएको भन्दै आपत्ति जनाएका छन् । उनले सुरक्षा निकायका उच्च ओहोदामा कार्यररत सिपाहीहरुको मान, सम्मान र स्वाभिमानमा ठूलो ठेस पुर्याईएको भन्दै यस प्रकरणमा संसदीय छानबिन समिति गठन गरेर सत्य,तथ्य बाहिर ल्याउनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले भने,‘सुरक्षा निकायका तल्लो दर्जाका सिपाहीहरुलाई घरेलु कामदार बनाईएको छ, बन्दुक बोकेर देश र जनताको सेवा र सुरक्षा गर्छु भनेर जागिर गर्न आएका ती सिपाहीहरुलाई नेताहरुको घरमा काम गर्न लगाउँदा र प्रहरीकै उच्च ओहोदाका अफिसरहरुको घरको निजी कामदार बनाउँदा कतिको न्यायोचित हो भनेर सोध्न चाहन्छु ? म यो दुई तिहाईको सरकारलाई सोध्न चाहन्छु, माननीय गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु–के तपाईंहरुको कमाण्डमा सुरक्षा निकाय छ कि छैन ? तपाईंहरुको सरकार कानूनअनुसार चल्छ कि चल्दैन ? यदि कानूनअनुसार चल्छ भने यस्तो अमानवीय किन भैरहेको छ ? डिआईजीभन्दा माथिका सबै अफिसरहरुको घरमा ड्राईभरपनि प्रहरी जवान हुने, घरको काम गर्नेपनि प्रहरी जवान हुने, नेताजीहरुको त्यस्तै छ, यही संसद्मा भएका सांसदहरुको गाडीपनि कयौंत प्रहरीले चलाईराखेको छ ।’
अहिलेको मौजुदा कानूनले यस्तो कार्य गर्न मिल्छ कि मिल्दैन ? भनेर उनले सरकारसँग नै प्रश्न तेर्साए । उनले थपे,‘अहिलेको मौजुदा कानूनले यस्तो काम गर्न मिल्छ भने कानून नै बनाए हुन्छ । तर, बन्दुक बोकेर देशको सेवा गर्छु भनेर प्रहरी सेवामा जागिर खाएको सिपाहीको यसरी मानमर्दन गर्नु कसरी उचित भयो ? बन्दुक बोकेर देशको सुरक्षामा खटिनुपर्ने सिपाही आज घरको निजी काममा लगाईएको छ, निजी गाडीको चालक बनाईएको छ, गमलामा पानी हाल्न लगाईएको छ, किचेनको काममा खटाईएको छ, भिस्त्री वस्त्र धुन लगाईएको छ।’
उनले यस विषयमा संसद्ले उच्चस्तरीय समिति बनाएर सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरे । उनले भने,‘यो विषयमा सरकार मौन हुनुहुँदैन, म सम्माननीय सभामुखज्यूलाई भन्न चाहन्छु कि कम्तिमा यो संसद्ले मानवता देखाओस । कानूनी शासन र सुशासनको लागि जिम्मेवार बनोस भन्न चाहन्छु । संसदबाट एउटा समिति बनाउँ, प्रहरीका उच्च ओहोदाका व्यक्तिहरुको घरको सिसी टिभी चेक गरौं । कम्तिमा अहिले भैरहेको अन्यायको कामलाई रोक्नको लागि योगदान गरौं । प्रहरकिो तल्लो दर्जामा काम गर्नेहरुमाथि उनीहरुको मान, सम्मान र स्वाभिमानसँग खेलबाड गर्ने कार्य हामीलाई स्विकार्य छैन् ।’
उनले सशस्त्र प्रहरीको सामान राखिएको बलम्बुको आगलागी घट्नाको छानबिन कहाँ पुग्यो भनेर पनि सोधेका छन् । उनले त्यस घट्नामा पनि ठूलो भ्रष्टाचार र घोटाला भएको कुरा आएको भन्दै त्यसमा पनि गम्भीर छानबिनको माग गरे ।




प्रतिक्रिया