काठमाडौं । साउन महिनामा पशुपतिनाथ मन्दिरमा बढ्न सक्ने भक्तको जनसंख्याको चापलाई विचार गर्दै पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिकै जस्तो व्यवस्था मिलाउने तयारी गरेको छ । कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीका अनुसार साउन महिनाको सोमवार र शनिवार विशेष व्यवस्थापन गरिनेछ ।
जोशीले धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का पदाधिकारी एवं कार्य समितिका सदस्यसँगको अन्तक्र्रियामा पशुपति क्षेत्रमा समाचार संकलनमा सहजता बनाउन ‘मिडिया सेन्टर’ खोलेर काम थालनीे गरिने प्रतिबद्धतासमेत जनाएका छन् ।
पशुपति क्षेत्रमा साउनको सोमवार, शनिवार, हरितालिका तीज, बाला चतुर्दशी, महाशिवरात्रि, नेपाली नयाँ वर्षको पहिलो दिनलगायतका विशेष अवसरमा लाखौँ भक्तजनको भीड लाग्ने गर्दछ । त्यस क्रममा समाचार संकलनमा पत्रकारलाई समस्या हुने भएकाले सञ्चारमैत्री वातावरण बनाइने बताइएको छ ।
नियमित व्यवस्थापनका लागि कोषका सञ्चालक परिषद्का सदस्यहरूलाई अनुगमनमा खटाउने तयारी भइरहेको पनि जोशीले जानकारी दिए । उनका अनुसार कोषले सूचना प्रविधिको प्रभावकारी प्रयोग गर्दै नागरिक एपमार्फत सेवा दिने तयारीसमेत गरेको छ । साथै, लामो समयदेखि बढुवा प्रक्रिया रोकिएकाले विकास कोषका कर्मचारीवर्गमा निराशा बढेको उल्लेख गर्दै आगामी केही महिनाभित्र विज्ञापन गरी पदपूर्ति प्रक्रिया अगाडि बढाइनेछ ।
हाल कोषको कर्मचारी नियमावली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगेको छ भने कोष ऐन संशोधनका लागि पनि आवश्यक पहल गरिने निमित्त सदस्यसचिव जोशीले जानकारी दिए ।




प्रतिक्रिया