शेखर समूहले अनुशासन समितिको कारबाही नमान्ने


काठमाडौं, २३ असार । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन आयोगले पार्टीका नेताहरुमाथि अनुशासनको डन्डा चलाएको छ । अनुशासनको कारबाहीमा पर्नेहरुमा प्रदेश महामन्त्रीदेखि पूर्वमन्त्रीसम्म रहेका छन् । गत २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घातको आरोप उनीहरुलाई कारबाही गरिएको हो । कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालदेखि पूर्वमन्त्री कुमार खड्कासमेत अनुशासनको कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेहरुमा तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्व मन्त्री खड्का, लुम्विनी प्रदेशका महामन्त्री खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला क्षेत्र नं.१ का क्षेत्रीय सभापति अरविन्दकुमार रहेका छन् ।

त्यस्तै, धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव ६ महिनाको लागि सदस्यबाट निष्काशित भएका छन् । धनुषाको सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं.१ का रामवावु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की जिल्ला क्षेत्र नं.२ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली, धनगढी उपमहानगरपालिका वडा नं। २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका वडा नं. १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नं.२ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका वडा नं. १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं. ५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीसमेत छ महिना निलम्बनमा परेका छन् ।

त्यस्तै, कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई तीन महिनाको लागि निलम्वन गर्ने निर्णयसमेत भएको छ । केन्द्रीय अनुशासन आयोगको निर्णय पार्टी संस्थापन इत्तर समूहले भने नमान्ने निर्णय गरेको छ । आज विहान बसेको डा.शेखर कोइराला समूहरुको बैठकले २३ जना नेतामाथि भएको कारबाहीलाई अस्वीकार गर्ने निर्णय गरेको हो । अनुशासन समितिले पार्टी नियमावली विपरीत कारबाही गरेको इत्तर समूहको ठहर छ ।

संस्थापन इत्तर समूहको बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार र नेताहरूमा अर्जुननरसिंह केसी, बलबहादुर केसी, सञ्जय गौतम आजको बैठकमा सहभागी थिए । File Photo/RN