समीमालाई छोराको उपचारको चिन्ता, अपाङ्गता कार्ड वितरण गर्दा पनि विभेद भएको गुनासो


काठमाडौं, २६ असार । रौतहटको इशानाथ नगरपालिका वडा नं. ७ कि समीमा खातुन ज्याला मजदुरी गरेर दैनिकी चलाउँछिन् । आफ्नो जग्गा जमिन छैन । श्रीमान बेपत्ता भएको पनि १३ वर्ष भयो, कुनै खबर छैन । समीमाको एक छोरा विरामी छन् । जन्मजात उनी पिसाब सम्बन्धी रोगका कारण समस्यामा छन् । १४ वर्षीय मोहम्मद मुजाहिदिनको पिसाब रोकिँदैन । २४सैं घण्टा पिसाब चुहिरहन्छ । डाक्टरले अप्रेशन गर्नुपर्छ भनेका छन् । तर, समीमासँग छोराको उपचार गराउने पैसा छैन ।

ईशानाथ नगरपालिकाले मोहम्मद मुजाहिदिनलाई ‘ग’ वर्गको अपाङ्गताको कार्ड दिएको छ । आफ्नो छोराभन्दा शारीरिक रुपमा सक्षम भएकाहरुलाई ‘क’ वर्गको अपाङ्गताको कार्ड दिइएको छ आफ्नो छोरालाई विभेद गरिएको समीमा बताउँछिन् ।

‘हामी गरिबहरु, ज्याला मजदुरी गरेर दैनिकी चलाउँछौं । आफ्नो जमिन छैन । श्रीमान बेपत्ता भएको पनि १३÷१४ वर्ष भयो । छोराको अप्रेशन गर्नलाई खर्च छैन । उपमेयरज्यूले सबै देखेर पनि छोरालाई ‘क’ वर्गको अपाङ्गताको कार्ड दिइएन,’– उनले भनिन् ।

छोरालाई क वर्गको अपाङ्गताको कार्ड दिएदेखि दैनिक हेरचाह र उपचारमा पनि केही सहयोग हुने उनको भनाइ छ । आफ्नो छोराको जस्तो समस्या भएका व्यक्तिलाई पूर्ण अपाङ्गता भएको व्यक्ति मानिने भनेर डाक्टरहरुले भनेको उनी सुनाउँछिन् ।

ईशानाथ नगरपालिकाले मनपरी ढंगले अपाङ्गता कार्ड वितरण गरेको उनको भनाइ छ । सम्बन्धित निकायले यसबारेमा छानविन गरेर आफ्नो छोरालाई पूर्ण अपाङ्गता भएको कार्ड दिलाइदिन उनले आग्रह गरिन् ।