काठमाडौं, २७ असार । नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमका कान्छा छोरा का डा.मोहम्मद राजिक आलमले एमाले नेता शैलेन्द्र साहको कारण आफ्नो बाबुविरुद्ध झुठा मुद्दा चलेको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना बाबुविरुद्ध तत्कालीन एमालेका उम्मेदवार साहले झुठा मुद्दा लगाएको दाबी गरेका हुन् । राजपुर नगरपालिकाका मेयरसमेत रहेका आलमले २०६४ को निर्वाचनमा त्यहाँ घटना नै नघटेको बताए । उनले आफ्ना बाबुविरुद्ध एमाले नेता साहले प्रतिशोध राखेर काम गरेको दाबी गरे ।
‘बम बिष्पोट भएकै छैन, घटना घटेकै होईन । यो मुद्दाको उठान कहाँबाट भयो भन्ने तपाईँहरुले बुझिदिनुपर्छ । मेरो बुबासँग २०६४ सालमा शैलेन्द्र साह भन्ने चुनाव लडेको थियो । यो जुन घटना भनिएको छ, वैशाख ३० गते । त्यो भन्दा एक महिना पहिला शैलेन्द्र साहले निर्वाचन अधिकृतलाई निवेदन दिनुभएको थियो, उहाँले चुनावमा धाँधली गर्नुहुन्छ, बुथ कब्जा गर्नुहुन्छ भनेर एक महिना पहिला नै निवेदन दिनुभएको थियो । अचानक वैशाख ३० गते गएर उहाँले सीडिओ अफिसमा निवेदन हाल्नुभयो, अफ्ताब आलमको घरमा बम पड्किएको छ भनेर । यसरी यो मुद्दा सुरुवात भएको छ । मेरो बुबासँग चुनाव लड्ने व्यक्तिको रिसिबी थिएन भनेर कसरी पत्याउनु । केही दिनअघि उहाँ गौरिशंकर राम चमारलाई लिएर यहाँ उपस्थित हुनुभएको थियो,’– उनले भने ।
साथै, आफ्ना बाबु अफ्ताब आलमको मुद्दाको सन्र्दमा प्रहरीले गौरिशंकरलाई एक वर्ष थुनामै राखेको उनको दाबी छ । ‘नेपाल प्रहरीले उहाँलाई एक वर्षसम्म थुनेर राखेको थियो । यो पहिला मुद्दा होला, जहाँ साक्षीलाई एक वर्ष थुनेर राखेको । के कारणले थुनेर राखिएको थियो ? यो देशलाई ढाँट्ने काम भइराखेको छ,’– उनले भने ।
अधिवक्ता सञ्जिवकुमार मल्लिकले गौरिशंकरले २०६८ सालमा गरेको बयानमा आफ्नो मुहारमा भएको खत सानोमा स्टोभ पड्किएर भएको भनी उल्लेख गरिएको बताए । ‘गौरीशंकर चमार यसमा एक जना पात्र बनाइएको छ । त्यो बनावटी पात्र हो । उहाँको अदालतको कागज छ । अदालतमा आफैं निवेदन दिनुभएको छ, बयान गर्नुभएको छ । मलाई जबरजस्ती प्रहरीले र त्यहाँका अन्य दलका कार्यकर्ताले मलाई समातेर ल्याएर थुनेर कागज गराएको भनेको छ । अफ्ताब आलम निर्दोष हो । कुनै बम काण्ड, घटना भएको छैन । म त खाना पकाउने बेलामा २०५५/०६५ सालतिर स्टोभ पड्केर घाइते भएको थिएँ । त्यसैमा मेरो मुख जलेको थियो । आजको होइन,’– उनले भने ।
दाबी प्रमाणित गर्ने भार वादीमा हुने बताउँदै उनले घटना भएको पुष्टि गर्ने प्रमाण पेश गर्न नसकिएको उनले बताए । गौरीशंकरले आलमको घरमा बम पड्किएर भएको घाउको खत भनी बोलेको कुरा पुष्टि हुन नसक्ने उनले बताए ।




प्रतिक्रिया