एकीकृत समाजवादीमा वामदेवलाई तेस्रो वरियता


काठमाडौँ, २७ असारः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच एकता हुने भएको छ । पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले आज हस्ताक्षर गरेका हुन् ।

दुवै पार्टीका नेताले हस्ताक्षर गरेको सहमतिपत्रमा भनिएको छ, ‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) मा एकताबद्ध हुने सहमति गरिएको हो ।’

आगामी साउन २ गते राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम गरी एकताको घोषणा गर्नेगरी समझदारी भएको एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । उनका अनुसार लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकताका लागि औपचारिक तथा अनौपचारिक छलफल गरिएको थियो ।

वामदेवलाई एकीकृत समाजवादीले तेस्रो वरियता दिने बताइएको छ । पार्टी एकतापछि अध्यक्ष नेपाल पहिलो वरियतामा हुनेछन् । दोस्रो वरियतामा सम्मानित नेता झलनाथ खनाल र तेस्रो वरियतामा गौतम रहने बताइएको छ ।