देउवाको चिन्ताः कांग्रेसमा देश र जनताको निम्ति काम गर्ने नेता पाउन मुस्किल भयो


काठमाडौं, २७ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देश र जनताको लागि काम गर्ने नेता तथा कार्यकर्ता पाउन मुस्किल भएको बताएका छन् । बागलुङको बिहुँ निवासी प्रतिनिधिसभाका पूर्वसदस्य एवं कांग्रेसका निष्ठावान नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३औँ दिनको पुण्यतिथिमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य रहेको बताए । उनले कँडेललाई बिपीको पथमा हिँड्ने निष्ठावान र इमान्दार नेताका रूपमा स्मरण गरे ।

‘उहाँ संसाद हुनुभयो, कहिल्यै लाभको पदमा बस्न खोज्नुभएन, सधैँ जनताको पक्षमा वकालत गर्दै हिँड्नुभयो उहाँको निष्ठा बिपीसँग मिल्छ”, देउवाले भने, ‘देश र राष्ट्रका लागि उहाँको योगदान अतुलनीय छ, नेपाली राजनीतिमा उहाँको नाम स्वर्ण अक्षरमा लेखिने छ । उहाँको मार्गलाई अन्य कांग्रेसका नेता तथा कार्यकर्ताले पछ्याउन आवश्यक छ ।’

उनले राजनीतिमा इमान र प्रतिष्ठा कमाउनुभएका कँडेलको निधनले कांग्रेसलाई ठूलो क्षति पुर्याएको भन्दै चिन्ता व्यक्त गरे । प्रतिनिधिसभाका पूर्वसदस्य कँडेलको यही असार १५ गते आइतबार निधन भएको थियो ।