पशुपति शमशेर नागरिक अभिनन्दन तथा जनसम्मानबाट सम्मानित


काठमाडौं, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य पशुपति शमशेर जबरा नागरिक अभिनन्दन तथा जनसम्मानबाट सम्मानित भएका छन् । काठमाडौंको प्रज्ञा भवनमा शुक्रबार विभिन्न संघ संस्थाहरुले विशेष समारोहकाबीच जबराको ८४औं जन्मोत्सवको अवसरमा उनलाई सम्मान गरिएको हो । जबराले नेपालको राजनीति, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई जनसम्मान गरिएको हो ।

जनसम्मान कार्यक्रम विभिन्न ५० ओटा संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेका हुन् । सम्मान ग्रहणपछि सांसद पशुपति शमशेर जबराले विभिन्न कालखण्डमा आफूले गरेका कामको स्मरण गरे । १२ बर्षको उमेरमै बुवा गुमाएपनि उनले देखाएको बाटो पच्छ्याउदै देशको सेवा गर्न आफू अहोरात्र खटिएको जवराले दाबी गरे ।

उनले चुनाव जितेर मन्त्रीसमेत भई जनताको सेवामा निरन्तर लागेको जिकिर गरे । उनले आफ्नो वंश परम्परा पनि राजनीति नै रहेको बताए । आफू दरबारिया सुख सयलमा हुर्किएको र त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन रहेको स्मरण गरे । आफूले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएको र नेपाली जनताको सुखदुःख बुझ्ने कोशिस गरेको बताए । आफ्नो जीवनको सबैभन्दा बढी उर्जाशील समय राजनीति नै रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पशुपति समशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको बताए । उनले आज आफूहरुका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो गौरव नेपाली राजनीतिक क्षेत्रमा लागेका सबैको लागि भएको बताए ।

उनले जबराले ६ दशकसम्म निरन्तर अविचलित रुपमा सार्वजनिक पदमा रुपमा सक्रिय भएर काम गर्नुभएको उल्लेख गरे । जबराले पञ्चायत, बहुदलीय र अहिलेको गणतन्त्रमा समेत मुलुकको राजनीतिमा अग्रणी भूमिका निर्वाह गरिरहेको बताए ।

जनसम्मान मूल समारोह समितिका अध्यक्ष नवीन शाहीले पशुपति शमशेरले नेपाली राजनीति, संस्कृति र राष्ट्रसेवामा दीर्घकालीन योगदान पुर्याएको भन्दै प्रशंशा गरे ।

पशुपति शमशेर जबरा एउटा ज्यूदो इतिहास भएको भन्दै सामाजिक, आर्थिक, शैक्षिक र हरेक क्षेत्रमा उनको ठूलो योगदान रहेको बताए ।

जबराले लामो राजनीतिक जीवनमा नेपालको लोकतान्त्रिक विकास, राष्ट्रिय एकता, संविधानवाद, र समावेशी समाज निर्माणका लागि पुर्याएको योगदान अत्यन्त मूल्यवान् रहेको सम्मान गर्न पुगेका सहभागिहरुले जनाएका थिए ।