शिक्षक आन्दोलन र सरकारको कारण शिक्षामन्त्रीबाट राजीनामा दिएँः पूर्वमन्त्री भट्टराई


काठमाडौं, २८ असार । नेकपा (एमाले) कि नेतृ एवं पूर्वमन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन र सरकारको कारण मन्त्रीबाट राजीनामा दिनुपरेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शिक्षकहरुले एक थान ऐन नलिइ जाँदैनौं भनेर अडान लिइराखेको बेला आफूले लगेको सातवटा बुँदामा सरकारले निर्णय नदिएको बताईन् । सरकारले आफूले लगेका सात बुँदामा समयमै निर्णय नदिएको र शिक्षक आन्दोलन २९औं दिनसम्म लम्बिएको अवस्थामा आफूले राजीनामा दिएर मार्ग प्रशस्त गरेको उनले सुनाईन् ।

‘त्यतिबेलाको शिक्षक आन्दोलन र प्रधानमन्त्री । दुवै कुरालाई हेर्नुपर्छ भन्ने लाग्छ । शिक्षकहरुले वार्ता नै गर्दैनौं हामीलाई एक थान ऐन चाहियो भन्ने कुरा जे गर्नुभयो, एक थान ऐनको कुरा काम भइरहेको थियो । म गएपछि न काम भएको हो । शिक्षा विधेयकमा मेरो भूमिका प्रशस्त छ । छलफल नै सुरु नभएको अवस्थामा मैले छलफल सुरु गरेँ । त्यसपछि संशोधनकर्ताहरुसँग छलफल भयो । उपसमिति बनाएर काम सुरु भइसकेको थियो । माग सम्बोधन गराउनका लागि हाम्रो आन्दोलनले मात्रै सम्भव हुन्छ भन्ने ठाउँमा उहाँहरु पुग्नुभयो । संवाद, छलफललाई उहाँहरुले त्यतिधेरै ध्यान दिनुभएन । त्यो अवस्थामा मलाई के लाग्यो भन्दा अब सरकारले पनि मैले जुन सातवटा बुँदा लिएर गएको थिए, त्यो सातवटा बुँदालाई मैले भनेकै दिनमा नगरेपछि मलाई के महशुस भयो भने यसरी त म जवाफदेही मन्त्री नहुने भए नि त,’– उनले भनिन् ।