काठमाडौं, २८ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले वर्तमान सरकारले देशको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रको सूचकहरु सकारात्मक दिशातर्फ गएको बताएका हुन् ।
‘देश अनिर्णय, अराजकता र आर्थिक अनुशासनहीनताको बाटोमा गइराखेको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने काम यो सरकारले गरेको छ । अहिले सूचकहरु हेर्ने हो भने सबै क्षेत्रमा सुधार छ,’– उनले भने ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनेदेखि लगानीमैत्री वातावरण बनेको, नीजी क्षेत्रलाई प्रोत्साहित गर्ने र उनीहरुको माग सुनुवाइ गर्ने काम भएको, झण्डै ३० अर्बभन्दा बढी दायित्व भुक्तानी गरेको, शून्य दशमलव ५ प्रतिशत आर्थिक बृद्धिदर भएको, अर्थतन्त्रको आकारमा बृद्धि भएको, राजश्व बृद्धि भएको, पुँजीगत खर्चमा पनि बृद्धि भएको र अर्थतन्त्रको १८ वटा सूचाङ्क सकारात्मक रहेको उनले बताए ।
साथै, विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषयलाई लिएर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई कमजोर बनाउने कोशिस भइराखेको उनले बताए । उनले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किनु बहसको विषय हुनसक्ने बताए । तर, यसलाई अहिले एमालेसँगमात्रै जोडेर बहस गरिन नहुने उनले बताए । उनले एमालेको अध्यक्ष केपी ओली हुने कि विद्या भण्डारी हुने भन्ने कुरा एमालेको महाधिवेशनले बताउने उनले बताए ।
‘उपाध्यक्ष भइसकेको मान्छे अब अध्यक्ष नै हुने होला भन्ने बजारमा चर्चा छ । एमालेलाई कमजोर बनाउन सकिन्छ कि, यसको नेतृत्वलाई कमजोर बनाउन सकिन्छ कि ? कुनै पनि हालतमा एमालेलाई कमजोर बनाउन नसकेपछि अरु पार्टीका साथीहरुले गरिराखेका छन् । एमालेलाई धुजा–धुजा बनाउने प्रयन्त गरिएको थियो । अध्यक्ष कमरेड ओलीले एमालेलाई एकीकृत राख्न सफल हुनुभयो,’– उनले भने ।
उनले एमालेको ११औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने बताए । ‘जो बन्छ, पार्टीको सर्वसम्मत केपी ओलीको नेतृत्वले सर्वसम्मत तरिकाले एमालेको महाधिवेशनमा नेतृत्व चयन हुन्छ । यसमा हामी ढुक्क छौं,’– उनले भने ।
साथै, उनले सरकारले गलत काममा कसैलाई पनि संरक्षण नगरेको बताए । मन्त्रीहरुको घुस प्रकरणमा जो दोषी देखिए पनि कारबाही हुने उनले बताए । ‘मन्त्रीज्यूले मेरो होइन भनिराख्नुभएको छ । सत्यतथ्य आयो भने जो दोषी हुन्छ, ऊ कारबाहीमा पर्र्छ । कसैलाई पनि संरक्षण गरिएको छैन, कसैलाई पनि संरक्षण गरिँदैन,’– उनले भने ।




प्रतिक्रिया