विद्या भण्डारी राजनीतिमा फर्किएपछि माओवादीमा खुसीयाली, नारायणकाजीले भेटबारे गरे रिपोर्टिङ


काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीलाई जानकारी गराएर नै विद्यादेवी भण्डारीलाई भेट गरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नारायणकाजीले पार्टी पदाधिकारी बैठकमा भण्डारीसँगको भेटबारे रिपोर्टिङ गरेको बताए । उनले एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको भन्दा फरक सिद्धान्त, विचार र दृष्टिकोण लिएर विद्या भण्डारी राजनीतिमा आएको खण्डमा वामपन्थी एकता सम्भव रहेको उनले बताए ।

‘विद्यादेवी भण्डारीलाई नारायणकाजीले भेटेको कुरा रिपोर्ट गर्नुभयो । उहाँले जानकारी दिएर भेटेको हो । त्यही कुरा त्यहाँ रिपोर्ट गर्नुभयो । हाम्रो भएको छलफल के हो भने अहिले वहालवाल एमालेको अध्यक्ष ओलीजी, उहाँको सिद्धान्त, विचार र दृष्टिकोणभन्दा फरक विद्यादेवीको हो कि होइन भन्ने कुरा क्लियर छैन । उहाँ सक्रिय भएर आउने कुरामा हामीलाई आपत्ति छैन । उहाँ नरम भएर आउनु भयो भने पनि झन राम्रै कुरा हो । वामपन्थी आन्दोलनलाई नयाँ ढङ्गले लिएर जान्छु भनेर आउनुभयो भने पनि हेरौंला । तर, आइसकेको छैन, आएपछि हामी छलफल गर्न सक्छौं,’– उनले भने ।

साथै, उनले आफूहरुले अहिले भर्खरै एमालेसँग एकताको प्रस्ताव अगाडि नबढाएको बताए । माओवादी सिद्धान्ततः वामपन्थीहरुको एकता हुनुपर्छ भन्ने पक्षमा रहेको र समाजवादको अगुवाइ गर्ने वामपन्थी पार्टी चाहिएको उनले बताए । ‘समाजवादको बाटोमा पुग्ने, त्यसका अगुवाइ गर्ने, वैचारिक नेतृत्व गर्ने र आशा जगाउने एउटा पार्टी चाहिएको छ । त्यो पार्टीलाई बोक्ने जनमत भनेको वामपन्थी जनमत हो । त्यो वामपन्थी जनमतलाई कहीँ न कहीँ एकै ठाउँमा लिएर जान सकियो भनेदेखि राम्रो हुन्थ्यो भन्नृे कुरा हामीले गरेका छौं । त्यसको कहीँ न कहीँ सुरुवात, भूमिका र पहल कदमी विद्याजीले अहिले बाहिर अनुमान गरेजस्तो गरी सकारात्मक भूमिका लिएर आउनुभयो भने हामी सहकार्य गर्न सक्छौं,’– उनले भने ।