काठमाडौं, ३० असार । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले कांग्रेस–एमाले गठबन्धनसहितको सरकारले सरकार भएको अनुभूति जनतामा दिन सक्नुपर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित सरकारको एक वर्षे समीक्षा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा सुधार आवश्यक रहेको बताएका हुन् । उनले दुई ठूला दलको सरकार बने पनि सुशासन दिन नसकेको, आर्थिक समृद्धि नभएको र जनतालाई सरकार भएको अनुभूति नभएको बताए । ‘दुईवटा पार्टीहरुले सुशासन दिनुपर्ने हो, आर्थिक समृद्धिका कुराहरुलाई अगाडि बढाउन पर्ने हो, त्यो सरकारले जनतालाई दिनुपर्ने अनुभूति कमी भएको जस्तो मलाई लाग्छ,’– उनले भने ।
सत्ता समीकरण कुनै व्यक्तिगत स्वार्थ पूर्ति गर्नका लागि नभई राष्ट्र र जनतालाई केन्द्र भागमा राखिनुपर्ने उनको भनाइ छ । उनले कांग्रेस–एमालेलाई गल्ती गर्ने छुट अब नरहेको बताए । उनले यो गठबन्धन सरकार असफल भएको खण्डमा देशमा ठूलो दुर्घटना हुने खतरा रहेको बताए । ‘यदि यो सत्ता समीकरण कुनै कारणले टुट्यो, असफल भयो भने यो देशमा ठूलो दुर्घटना हुनसक्छ । दुईवटा ठूला दल मिलेर पनि राजीतिक स्थायित्व दिन सकेनौं, सुशासन दिन सकेनौं र युवाहरुलाई भरोसा दिलाउन सकेनौं,’– उनले. भने ।
सरकारले युवाहरुलाई राज्यभित्र भविष्य छ र प्रगति गर्न सक्छु भन्ने खालको विश्वास दिलाउन सक्नुपर्ने उनले बताए । आज देश रेमिट्यान्सले चलिरहेको र यसरी सधैंभरी नधानिने उनले बताए । अहिले देशको राष्ट्रिय राजनीतिसमेत सही ढङ्गले नचलेको उनको दाबी छ । ‘अहिले देशको राष्ट्रिय राजनीति पनि जुन तरिकाले चल्नुपर्ने हो, त्यो चल्न सकिराखेको छैन,’– उनले भने, आज भ्रष्टीकरण व्यापक भएको छ । भ्रष्टीकरण बढेको छ । यो भ्रष्टीकरणलाई कसरी न्यूनीकरण गर्ने ? जहाँसम्म वित्तीय अनुशासन मुलुकमा कायम हुँदैन, तबसम्म सुशासन अगाडि बढ्दैन । त्यसैले आज वित्तीय अनुशासन अराजकतातिर गइराखेको छ ।’
नेता खड्काले दुई ठूला दल मिलेर पनि जनतामा भरोसा दिलाउन नसकिएको बताए । अब दुईवटा ठूला दलका नेताहरुले आफ्नो स्वमूल्याङ्कन गर्नुपर्ने अवस्था आएको उनले बताए । नेताहरुले आफैंबाट रुपान्तरित र आफैंबाट सुधार खोज्नुपर्ने उनले बताए । ‘दुईवटा ठूला दलका नेताहरुले आफैंलाई स्वमूल्याङ्कन गर्नुपर्ने बेला आएको छ । आफैंबाट सुधार गर्नेपर्ने अवस्था छ । अब कसैलाई आदेश दिने, कसैलाई अर्ती दिने, कसैलाई निर्देशन दिने होइन । स्वयं मेरो पार्टीका सभापति शेरबहादुर देउवाले आफूलाई स्वमूल्याङ्कन गर्नुपर्यो,’– उनले भने, ‘पाँच पटक प्रधानमन्त्री हुनुभएको छ । उहाँको हातमा अहिले शासन छ । तीन चार पटक प्रधानमन्त्री बन्नुभएको छ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । अब उहाँहरुले यो मुलुकको नेतृत्व सम्हालेर जिम्मेवारीपूर्वक जवाफदेहिताका साथ राष्ट्रय र जनतालाई केन्द्र भागमा राखेको सुशासन दिनैपर्छ ।’
साथै, राष्ट्रिय सहमति गरेर सबैको अपनत्व हुने किसिमले संविधान संशोधन गरिनुपर्ने उनको भनाइ छ । यदि कांग्रेस–एमालेसहितको सरकार असफल भएको खण्डमा डेमोक्रेशी नै असफल हुने र देशमा राजनीतिक अस्थिरता फैलिने उनले बताए । राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर दुई ठूला दलका नेताहरु आफू सुध्रिनुपर्ने उनले बताए ।
‘राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर दुई ठूला दलका नेताहरु आफू सुध्र्रिनुपर्छ । आफू सुध्रिसकेपछि तलका कार्यकर्ताहरु अटोमेटिक सुध्रिन्छन् । यो तरिकाले राज्य चल्दैन । गलत गर्ने मान्छेलाई त कारबाही गर्नुपर्यो नि त । भ्रष्टाचार गर्नेलाई पालिराख्ने ? सरकारको मन्त्रीमा बस्ने, गलत काम गर्ने, अब उनीहरुलाई दण्ड नदिने ? जसले–जसले गलत काम गर्छन् नेपालको संविधान र कानूनभित्र रहेर उनीहरुलाई दण्ड दिनु्पर्छ,’– उनले भने ।




प्रतिक्रिया