काठमाडौं, ३१ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य किरण कुमार साहले सरकारले भ्रष्टाचारी र अपराधीहरुको संरक्षण गरिराखेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेसका नेता समेत रहेका अफ्ताब आलमतर्फ लक्षित गर्दै उनले जघन्य अपराधमा संलग्नलाई न्यायलयले उन्मुक्ति दिएको बताए । जसको कारण अहिले सरकारले अपराधीलाई संरक्षण दिइरहेको जस्तो देखिएको उनको भनाइ छ ।
‘गठबन्धनको सरकारमाथि समस्या पैदा भएको छ, विपक्षी दलले त भनिराखेको अवस्था थियो । सत्तापक्षका सांसदहरु असन्तुष्ट हुनु भनेको यो दुःखद कुरा हो । किनभने अपराधीहरुको संरक्षण भइराखेको छ । जघन्य किसिमका अपराधीहरुले न्यायलयबाट उन्मुक्ति पाउँछ भने अपराधीहरुको संरक्षण गर्ने जस्तो देखिएन त ?’ प्रश्न गर्दै उनले भने ।
सरकारले आफूलाई स्वच्छ र निष्पक्ष प्रमाणित गर्न चाहन्छ भने अफ्ताब आलमजस्ता अपराधीलाई उन्मुक्ति दिने न्यायाधीशमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ । साथै, उनले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आफ्नो बोलीमा अडिग हुन नसकेको उनको भनाइ छ । भिजिट भिसा प्रकरणमा लिएको अडान टिकाउन नसकेको उनले टिप्पणी गरे । अहिले सत्ता पक्ष र प्रतिपक्ष दुवै मिलेर अपराधी र भ्रष्टाचारीलाई जोगाउने काम भइरहेको उनको दाबी छ ।
‘प्रचण्डजीले उहाँ विपक्षी दलको नेता हुनुहुन्छ । उहाँले बोल्नु उहाँको कर्तव्य हो । तर एकछिन बोल्नु र एकैछिनमा पछाडि हट्नु भनेको गलत कुरा हो । भिजिट भिसा प्रकरणमा पनि प्रतिपक्ष दलका नेताले अडान लिनुभएको थियो त । यहाँ त सत्तापक्ष, प्रतिपक्ष सबै भ्रष्टाचारी र अपराधीलाई जोगाउने काम भइराखेको छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया