जसपा नेपालले सरकारमा जाने तयारी गरेको छैनः महासचिव शर्मा


काठमाडौं, ३२ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव रामकुमार शर्माले पार्टी सरकारमा जाने कुनै योजना र नीति नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सकरारले देशको समस्या समाधान गर्न नसक्ने, देशमा भ्रष्टाचार महामारीको रुपमा चलेको, जनतामा निकै ठूलो निराशा छ भन्ने निष्कर्ष निकालेर कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्थामा सरकारमा जानेबारे कुनै निर्णय नभएको उनले बताए ।

‘यो सरकारको औचित्य समाप्त भयो, यो सरकारले देशको समस्या समाधान गर्न सक्दैन । देशमा भ्रष्टाचारको राष्ट्रिय महामारी चलेको छ । जनतामा ठूलो निराशा छ, बेरोजगारी चलेको छ । देश ऋण र रेमिट्यान्सबाट चलेको छ । सीमित पुँजीगत खर्च पनि खर्च गर्न सकिराखेको छैन । यो सरकारलाई समर्थन दिइराख्नु अब जरुरी भएन । सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ भनेर हामीले केन्द्रीय कार्यकारिणी समितिको बैठक गरेर संसदीय दललाई निर्देशन दिइसकेका छौं । यस्तो अवस्थामा हामी सरकारमा जाने न योजना छ, न नीति छ ?’ प्रश्न गर्दै उनले भने ।

जसपा नेपालले सरकारलाई समर्थन गर्नुको मूल कारण भनेको संविधान संशोधन रहेको उनले बताए । संसदीय दलले उपयुक्त समयमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने उनले बताए । कांग्रेस–एमाले गठबन्धन सरकार बन्दाको क्रममा संविधान संशोधनको प्रतिवद्धता गरिएको भए पनि त्यसतर्फ कुनै पनि कदम नचालिएको उनले बताए ।