वीरगञ्ज (पर्सा), ५ साउन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले जिल्लामा जुवा–तास नियन्त्रणका लागि सक्रियता बढाएको छ ।
गत शनिबार जीतपुर–सिमरा उपमहानगरपालिका–२ जानकी टोलबाट नौ जना जुवाडे पक्राउ परेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले उच्च पदस्थ तथा राजनीतिक पदको आवरणमा जुवातास खेल्नेलाई नियन्त्रण गर्न आवश्यक अभियान सञ्चालन गरिएको बताए ।
‘‘जुवातास खेल्नेको अखडाहरु लक्षित गरी खोज्ने कार्य जारी राखेका छौँ”, उनले भने, ‘‘बारा प्रशासनले लागुऔषधको दुव्र्यसनी रोक्न ‘ड्रप ड्रग’ लाई उत्तिकै प्राथमिकता दिइरहेका छौँ ।’’
प्रजिअ अधिकारीले जुवातास खेल्ने उच्चपदस्थ व्यक्तित्वहरुको खोजी तीव्र बनाइएको बताए । ‘‘जीतपुर सिमरामा पक्राउ पर्ने कुनै राजनीतिक पार्टीका केन्द्रीय सदस्य, विद्यालयका प्रधानाध्यपक, व्यवस्थापन समितिका अध्यक्षलगायत छन्’’, उनले भने, ‘‘तास खेल्ने अखडाहरुको रेकी गरेर पक्राउ गर्ने काम हुँदै आइरहेको छ ।’’
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जुवातास नियन्त्रणका कदम चाल्दै आइरहेको बताए । ‘‘प्रहरीले जुवातास नियन्त्रणका लागि सधैँ नै आवश्यक निगरानी गरिराखेको हुन्छ’’, उनले भने, ‘‘जुवाडे पक्राउ गर्दा प्रहरीको सक्रियता बढ्यो भन्ने र पक्राउ नपर्दा घट्यो भन्ने हुँदैन । हामीले गर्नुपर्ने काम गरिराखेका छौँ ।’’ प्रवक्ता पण्डितले बारामा जुवातास खेल्ने पेशेवरकै रुपमा रहेको जानकारी दिए ।
मुलुकी अपराध संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्थासहित उल्लेख छ ।
जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ । तर, जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत नहुने उल्लेख छ । रासस




प्रतिक्रिया