ऋषि धमलाले विद्यार्थीलाई सुनाए अनुशासनको महत्व : माता–पिता, मातृभूमी र गुरूलाई नभुल्न सुझाव (भिडिओ सहित)


काठमाडौं, १६ साउन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले विद्यार्थीहरूलाई अनुशासन पाल्न सकेमात्र मानिसले जीवनमा सफलता हात पार्नसक्ने सुझाव दिएका छन् । काठमाडौंको पेन्टागन ईन्टरनेश्नल कलेजले आज (शुक्रबार) आयोजना गरेको ओरिएन्टेशन कार्यक्रमलाई सम्बोधन गर्दै धमलाले यस्तो सुझाव दिएका हुन् ।

उनले भने,‘कोही पनि मानिस सफल हुनको लागि पहिलो कुरामा अनुशासन चाहिन्छ । एकले अर्कोलाई सम्मान र आदर गर्नुपर्छ ।’ उनले विद्यार्थी भाइ–बहिनीहरुलाई आफूलाई जन्म दिने आमा–बुवा, जन्मिएको भूमि र शिक्षा दिने गुरुहरुको सम्मान गर्न सुझाव दिए ।

उनले विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि भविष्यमा विश्वको जुनसुकै कुनामा गएपनि आफ्नो देशलाई कहिल्यैपनि नभुल्न सुझाए । विदेशमा सिकेको सिप, हासिल गरेको ज्ञान र पुँजी स्वदेशमा नै लगानी गर्न पनि धमलाको टिप्स छ । पेन्टागन कलेजमा शिक्षा लिने विद्यार्थीहरुले गर्व गर्नुपर्ने भन्दै यो कलेजमा सैद्धान्तिक र व्यवहारिक ज्ञानसमेत प्राप्त हुने धमलाको विश्वास छ ।

सो क्रममा उनले देशको पछिल्लो राजनीतिक अवस्थाबारे पनि चित्रण गरेका थिए । उनले अहिले लोकतन्त्र नभएर लुटतन्त्र हाबी भएको भन्दै जताततै भ्रष्टाचार र लुट भएकोले जनतामा निराशा छाएको सुनाए । तर, धमलाले अहिलेको व्यवस्था खराब नभएको तर्क गरे ।

उनले भने,‘यो व्यवस्था खराब होईन, अवस्थामात्रै खराब बनाईयो । देशको यो अवस्था सुधार गर्नकोलागि सबैले योगदान गर्नुपर्छ ।’ उनले आफू लगातार दैनिक १८ देखि २० घण्टासम्म काममा व्यस्त हुने गरेको पनि प्रसंग सुनाए । विहान ४ बजेदेखि राति १२ बजेसम्म खटिने गरेको उनको भनाई छ ।