महाधिवेशनबाट प्रचण्डको दस्तावेज, नीति पास भएर अरु नेता हुने हुँदैन, पार्टीमा उहाँको विकल्प पनि छैनः मुक्ति प्रधान


काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) का नेता मुक्ति प्रधानले पार्टीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीमा प्रचण्डको विरुद्धमा दस्ताबेज पेश गर्ने आँट आजसम्म कसैले नगरेको बताएका हुन् । विगतमा बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’ पार्टीमा हुँदा उनीहरुले समेत प्रचण्डको विरुद्धमा दस्तावेज पेश गर्न नसकेको उनले बताए । अहिले पार्टी उपमहासचिव जनार्दन शर्माले दस्ताबेज पेश गरेको नभएर सुझावमात्रै राखेको उनले बताए ।

‘जसको दस्तावेज पार्टीमा पास हुन्छ, उही नेता हुने हो । हाम्रो पार्टीमा अध्यक्ष प्रचण्डको विकल्पमा कसैले पनि कुनै दस्तावेज पेश गर्दैन । पेश गर्ने आँट पनि गरेको छैन । पेश गरेको बेलामा हामी छलफल गर्ने कुरा छदैछ । तर अहिलेसम्म हिजो बाबुराम हुँदाखेरी पनि, किरण दाई हुँदाखेरी पनि उहाँको विकल्पमा दस्ताबेज पेश भएकै छैन,’– उनले भने ।

उनले नेतृत्व कसैलाई दिने वा दिने भन्ने कुरा नहुने बताए । कम्युनिष्ट पार्टीमा जसको नीति उसकै नेतृत्व हुने उनले बताए । पार्टीको ८औं महाधिवेशनमा अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा गर्न कोही पनि तयार नभएकाले सर्वसम्मत नेतृत्व चयन भएको उनले बताए ।

नेता प्रधानले एमालेले कम्युनिष्ट पार्टीको विधि, सिद्धान्त नै अवलम्बन नगर्ने गरेको बताए । उनले एमालेलाई संसद्वादी पार्टीको संज्ञा दिए । संसद्वादी पार्टीको शैलीमा एमालेले नेतृत्व चुन्ने गरेको उनको भनाइ छ । File Photo/RN