भूमि विधेयक महेन्द्रीय चिन्तनबाट प्रेरित छ, यो फिर्ता लिनुपर्छ : केशव झा


काठमाडौं, १७ साउन । मधेश सम्वादमा भाग लिएकाहरुले भूमि विद्येयक फिर्ता लिन सरकारलाई सुझाव दिएका छन् । ज्ञानसत्ता निर्माणमा काम गरिरहेको वैचारिक संस्था मधेश लाइब्रेरी एण्ड रिसर्च सेन्टरको आयोजनामा आज (शनिबार) काठमाडौंमा रहेको मधेश लाइब्रेरी हलमा भएको मधेश संवादको २३औं शृंखलामा ‘भूमि विधेयकको अन्तर्य’ विषयक अन्तरक्रिया आयोजना गरिएको थियो । वक्ताको रुपमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका महासचिव राम कुमार शर्मा मुख्य वक्ता थिए ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले भूमि विधेयक तराई मधेश, नेपाल र विश्वको हितमा नरहेको दाबी गरेका छन् । सुकुम्बासी र भुमिहीनको नाममा जिग्गा वितरण गर्ने भनिएपनि भूमाफियाको डिजाईनमा उक्त विद्येयक ल्याईएको झाको आरोप छ। उनले उक्त विधेयक महेन्द्रीय चिन्तनबाट प्रेरित भएर ल्याईएको समेत आरोप लगाए ।

उनले भने,‘मधेशी समुदायलाई मधेशकै भुमिमा अल्पसंख्यक बनाउने षड्यन्त्र तहत यो विधेयक ल्याइएको हो। अहिले नै तराई मधेशको भुमिमा खानेपानीको अभाव देखिएको छ । यदि यो विधेयक पास भयो भने मधेशको भुमी मरुभूमिमा परिणत भई सिंगो मधेश उजाड हुनेछ । मधेशको जनजीवन नै संकटमा पर्ने निश्चित छ।’

कार्यक्रममा जसपा नेपालका महासचिव रामकुमार शर्माले भूमि विधेयक जारी गर्नु अघि यस्को औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताए। यो विधेयक त्रुटिपूर्ण रहेकोले खारेज नै गर्नुपर्ने शर्माको भनाई छ । कार्यक्रम सञ्चालन मधेश लाइब्रेरीका सदस्य शमशाद अहमदले गरेका थिए।