काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत गएर समावेशिताको विरुद्धमा बोलेको बताएका छन् । आज (बुधबार) सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संविधानविपरीत बोल्ने प्रधानमन्त्रीको जनताले राजीनामा माग्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले केही दिनअघिको एक सार्वजनिक कार्यक्रममा ‘समावेशिता राजनीतिक पदमा पुग्नका लागिमात्रै हो, यो कुनै कामको कुरा होइन’ भनी अभिव्यक्ति दिएका थिए ।
‘केही दिन अगाडि यो समावेशिता पनि ठीक छैन भन्न भ्याउनुभयो । संविधानअनुसार शपथ गरेर बसिराखेको प्रधानमन्त्रीले नैतिकरुपले त्यो त राजीनामा माग्ने विषय हो । नैतिक रुपले त यो त जनताले तपाई राजीनामा दिनुस्, संविधानविपरीत कुरा गर्नुभयो । समावेशी निर्वाचनबाट आउनुभएको प्रधानमन्त्री, उहाँले नै मत पाउनु भएको छ समावेशी निर्वाचन प्रणालीबाट आउनुभएका माननीयहरुको,’– उपमहासचिव पुनले भने ।
वर्तमान सरकारले समावेशिता, प्रेस स्वतन्त्रता, वाक् स्वतन्त्रताको विरोध र सबै–सबै निकायहरुलाई नियन्त्रण गर्दै आइराखेको उनले बताए । निर्वाचन आयोगले ड्राफ्ट गरेको स्वमूल्याङ्कन सम्बन्धी कार्यविधिमा पनि प्रधानमन्त्री ओलीको नियत ठीक नदेखिएको उनको भनाइ छ ।




प्रतिक्रिया