उत्तराखण्डको बाढीमा बेपत्ता भएका नेपालीको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको छः परराष्ट्रमन्त्री राणा


काठमाडौं, २३ साउन । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले छिमेकी मुलुक भारतको उत्तराखण्डमा केही दिनअघि गएको बाढीमा परी बेपत्ता भएका नेपाली नागरिकको खोजी र उद्दार कार्यका लागि कूटनीतिक पहल सुरु भएको बताएकी छन् । नेपाली नागरिक बेपत्ता भएको खबरले दुःखी बनाएको बताउँदै उनले नयाँ दिल्लीस्थित नेपाली राजदूताबासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएको बताएकी छन् ।

‘छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको छ । उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूताबासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएकी छु,’– उनले भनेकी छन् ।

परराष्ट्रमन्त्री डा.राणाले सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसहित परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।