काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले पार्टीले आफ्नो आँट र सामर्थ्य गुमाइसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कम्युनिष्टको वैशाखी नटेकी, कम्युनिष्टसँग नमिली कांग्रेसको अस्तित्व कल्पना पनि गर्न नसकिने अवस्थामा पुगेको बताएका हुन् । उनले कांग्रेस ठूलो पार्टी भएर पनि अहिलेसम्म आफ्नो नेतृत्वमा सरकार बनाउन नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।
‘अहिलेसम्म आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन नसक्ने । के भयो यो, हाम्रो नेताहरुको जमात कता अल्झिए ? के स्वार्थमा परे ? मैले यो कुरा चाहिँ बुझ्न सकेको छैन । कहिले पनि यस्तो हुँदैन थियो । डेमोक्रेशीको मूलभूत कुरा भनेको त पहिला पार्टीको नेतृत्वमा सरकार बनाउने । अनि कसरी बनाउने भन्ने कुरामा कांग्रेसले आफ्नो आँट, सामर्थ्य गुमाइसक्यो । कम्युनिष्टहरुको वैशाखी नटेकी, कम्युनिष्टसँग नमिली त कांग्रेसको अस्तित्वको कल्पना नै गर्न नसकिने अवस्थामा देश पुग्यो,’– उनले भने ।
अबको एक वर्षपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने कुरामा उनले आशंका व्यक्त गरे । उनले अरुको कृपामा, अरुले दिन्छु भनेको भरमा देउवा फेरि प्रधानमन्त्री बन्ने कुरामा निश्चिन्त हुन नसकिने बताए ।
‘ठूलो पार्टी भएर पनि आजसम्म कांग्रेसको नेतृत्वमा सरकार बन्न नसक्नुको पछाडि को–को दोषी हो त ? कसको चाहिँ नालायकी हो भन्ने कुरा कांग्रेसले निर्क्यौल गरोस् । त्यो गर्न सक्दैन भने सधैंभरी यस्तै हो । अरुको कृपामा, अरुले दिन्छु भनेका छन्, दिएदेखि बन्ने हो । होइन भने कसरी बन्छ त ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया