काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका नेता दयाराम पाण्डेले नेपाल–भारतको सम्बन्ध अझ प्रगाढ बनाइनुपर्ने बताएका छन् । भारतको ७९औं स्वतन्त्रता दिसवको अवसरमा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो देशको समस्या खुलेर भन्न सक्नुपर्ने बताएका हुन् ।
‘नेपाल–भारतको सम्बन्ध हामीले गाढा बनाउनुपर्छ । अहिले प्रधानमन्त्री केपी ओली हुनुहुन्छ । उहाँले भारतीय प्रधानमन्त्रीसँग नेपालको कार्यकारी प्रधानमन्त्रीको हैसियतले उहाँले खुलेर नेपालको समस्याबारेमा भन्नुपर्छ,’– उनले भने ।
उनले नेपाल–भारत र दुई देशका जनता–जनताबीच डीएनए नै मिल्ने बताए । नेपाली जनता भारतमा र भारतीय जनता नेपालमा आएर व्यापार, व्यवसाय र रोजगारीमा रहेको बताए । यो परम्परा आजमात्रै नभएर विगत लामो समयदेखि चल्दै आएको उनको भनाइ छ ।
‘नेपाल र भारतको जनता–जनताको, सरकार र सरकारबीचको डीएनए नै मिल्छ । नेपालीहरुको त्यहाँ ठूलो बसोबास छ । धेरै नेपालीहरु संसारको कुनै अर्को देशमा हुनुहुन्छ भने भारतमा हुनुहुन्छ । भारतीय जनता पनि नेपालमा नभएको होइन । धेरै वर्ष अगाडिदेखि नेपालमा बसोबास गर्नुभएको छ । व्यापार व्यवसाय गर्नुभएको छ,’– उनले भने ।
उनले विश्वको सर्वशक्तिमान र सबैभन्दा धेरै जनसंख्या भएको भारत र चीनको बीचमा भएको नेपालले यी देशबाट फाइदा लिन सक्नुपर्ने बताए ।
नेपालले उत्तर फर्किँदा एउटा कुरा, दक्षिण फर्किँदा अर्को कुरा गर्न नहुने उनले बताए । साथै, भारत र नेपालबीच निकै घनिष्ठ धार्मिक सम्बन्ध रहेको पनि उनले बताए ।
‘भारत र नेपालको सम्बन्धमा सबैभन्दा ठूलो सम्बन्ध हाम्रो धार्मिक सम्बन्ध रहेको छ । जुन चाहिँ हामीले वैद्धिक सनातन धर्म, संस्कृति सम्बन्धी नेपाल र भारतको एउटै धर्म संस्कृति, हाम्रो रोटी–बेटीको सम्बन्ध, हाम्रो छिमेकीको सम्बन्ध,’– उनले भने ।




प्रतिक्रिया