ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा वृहत रक्तदान आयोजना, एक लाख युनिट रक्त-संकलन गर्ने लक्ष्य


काठमाडौं, ३१ साउन । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले संस्थाको एशोशियट अन्तर्राष्ट्रिय मुख्यालय ‘प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय’ भारतका पूर्व मुख्य प्रशासीका दादी प्रकाशमणिजीको १८औं पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा वृहत रक्तदान अभियान सञ्चालन गर्ने भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी रक्तदान कार्यक्रबारे जानकारी गराइएको हो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विगत ५५ वर्षदेखि मुलुकमा शान्ति, सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न तथा आध्यात्मिक, नैतिक, चारित्रिक र मानवीय मूल्यहरूको पुनस्थापन गर्नमा महत्वपूर्ण सामाजिक–आध्यात्मिक कार्यहरू गर्दै आएको छ । नेपालमा एक लाखभन्दा बढी संख्याका जनसमुदायलाई धुम्रपान, मद्यपान, लागुपदार्थजस्ता कूलत र दुव्र्यसनबाट मुक्तिको कार्यमा सहयोग गर्दै आइरहेको छ ।

आगामी भदौ ६ देखि ९ गतेसम्म (अगस्ट २२–२५) सञ्चालन हुने यस रक्तदान अभियानमा नेपाल र भारतमा रहेका हजारौं ब्रह्माकुमारीका सदस्यहरू, विभिन्न सामाजिक संस्था तथा संघ–संगठनहरूको सक्रिय सहकार्य रहने बताइएको छ ।

भदौ ६ देखि ९ गतेसम्मको ४ दिनमा १ लाख युनिट रगत संकलन गर्ने लक्ष्यसहितको यो अभियान हालसम्मको सबैभन्दा ठूलो रक्तदान एवं सकलन सम्बन्धी मानवीय प्रयासका रूपमा रहने बताइएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको मूल्य र मान्यताअनुसार, यस अभियानको मूल उद्देश्य गम्भीर अवस्था वा मृत्युमुखमा पुगेका बिरामीलाई जीवनदान प्रदान गर्नुका साथै समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउनु रहेको बताइएको छ ।

ब्रह्माकुमारी नेपालका वरिष्ठ उपाध्यक्ष तथा राजयोगी रामसिंह ऐरले विश्वबन्धुत्वको भाव र विश्व एकताको भावलाई जागृत गर्ने उद्देश्यले यो अभियानलाई सुरु गरिएको बताए । यस अभियानको उद्घाटन कार्यक्रम भोलि (भाद्र १ गते) राष्ट्रिय प्रकृति संरक्षण कोषको सभा हलमा विहान ९ः३० बजे हुने उनले जानकारी गराए ।