बजारमा ७० प्रतिशत वस्तु र सेवा बिल बिजकविना कारोबार भइरहेको छः निवर्तमान महानिर्देशक दाहाल (भिडिओसहित)


काठमाडौं, १ भदौ । बाणिज्य विभागका निवर्तमान महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा ७० प्रतिशत विल विजकविना बस्तु तथा सेवाको कारोबार भइरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले अहिले बजारमा ७० प्रतिशत कारोबार विल विजकविना भइरहेको र त्यसमा पनि ७० देखि ८० प्रतिशतसम्म एमआरपी नै नभएको सामानहरु विक्री भइरहेको बताएका हुन् । ‘७० प्रतिशत बिल विजकविना कारोबार हुन्छ । त्यसमा पनि ७० देखि ८० प्रतिशत एमआरपी (मूल्य) छैन,’– उनले भने ।

विल विजक र एमआरपीको विषयमा कडाइ गर्दा विचौलियाहरुले आफूलाई बाणिज्य विभागका निवर्तमान महानिर्देशकबाट सरुवा गराइदिएको उनले स्वीकार गरे । ‘कुमार प्रसाद दाहाललाई विचौलियाहरुले सरुवा नै गराए पनि त ? हटाए नि त बाणिज्य विभागबाट ?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यो चाहिँ हो । मलाई दुई चारचोटी थ्रेट आएकै हो त । डण्डी र सिमेन्टवालाहरुलाई एमआरपी लगाउन खोज्दा २४ घण्टाभित्र डीजी हटाउँछु भन्नु भएको हो । त्यो साहस कहाँबाट आयो ?’ प्रश्न गर्दै उनले भने ।

साथै, उनले आफूले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, खेलकुदमन्त्री तेजुलाल चौधरीदेखि नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले सञ्चालन गरेको विद्यालयहरुमा पनि अनुगमन गरेको बताए । उनले आफूले अनुगमन गरेका निजी विद्यालयहरु कुनै पनि सही तरिकाले सञ्चालन नभइरहेको बताए । हाई प्रोफाइल र शक्तिशाली व्यक्तिहरुले सञ्चालन गरेको व्यवसायमा सबैभन्दा बढी समस्या रहेको उनको भनाइ छ । ‘सबै हाई प्रोफाइल र शक्तिशालीहरुको व्यवसाय त गडबढ छ नि यहाँ । साधारण त रेगुलेशनमा बसेका छन्,’– उनले भने ।