क्यानका महानिर्देशक अधिकारी भ्रष्टाचारी रहेको दाबीसहित अख्तियारमा उजुरी, तत्काल निलम्बनको माग


काठमाडौं, १ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको दाबीसहित युवराज पौडेल ‘सफल’ ले अख्तियारमा उजुरी दिएका हुन् ।

‘संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले समेत पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार, संसद् र नेपाल सरकारको नाममा समेत निर्देशन दिएको अवस्थालाई हेर्दा निज प्राधिकरणका डिजीलाई तत्काल निलम्बन गरी कानुनबमोजिम कारबाही गर्नु मनासिव देखिन्छ,’– उजुरीमा भनिएको छ ।

पोखरा विमानस्थल निर्माणमा करिब ९ अर्ब २३ करोड बढी भ्रष्टाचार भएको र सो भ्रष्टाचार प्रकरणका मुख्य योजनाकार एवं आरोपितसमेत अधिकारी नै रहेको दाबीसहित निजलाई तत्काल निलम्बन गरी कानूनी कारबाहीको माग गरिएको छ ।