‘वामपन्थी एकतामा छैन भर, ओलीबारे बेखबर’


काठमाडौं, २ भदौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को कार्यकर्ता रहेको बताएकी छन् । आज (सोमबार) विराटनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टीकै निर्णयले राष्ट्रपति बनेको र आफ्नो कार्यकाल पूरा गरिसकेपछि पुनः एमालेमा फर्किएको बताएकी हुन् ।

‘म नेकपा (एमाले) नै हो । नेकपा (एमाले) नै भएर राष्ट्रपति निर्वाचित भएको हो । म नेकपा (एमाले) का कार्यकर्ता हुँ । यस विषयमा धेरै छलफल गरिररहनु आवश्यक लागेको छैन । म एमालेको कार्यकर्ता हो । हिजो पनि एमाले भएर नै राष्ट्रपति भएको हो । पार्टीले नै निर्णय गरेर पठाएको हो,’– उनले भनिन्, ‘राष्ट्रपति एउटा पद हो । यो आवधिक हुन्छ । कुनै पनि जनताको छोराछोरीहरु निर्वाचित भएर राष्ट्रपति हुन सक्छन् । कार्यकाल सकेपछि आफ्नो राजनीतिक जीवनमा फर्किन सक्छन् ।’

साथै, उनले राष्ट्रपतिको कार्यकाल पूरा गरिसकेपछि आफूले पार्टी सदस्यता नवीकरण गरेको बताईन् । ‘राष्ट्रपतिको कार्यकाल सकिइसकेपछि मैले नवीकरण गरेको हो । औपचारिक रुपमा नवीकरण गरेको हो,’– उनले भनिन् ।

साथै, उनले आफ्नो नेतृत्वमा वाम एकताको सम्भावना बलियो नदेखेको पनि बताईन् । नेपालमा धेरै वामपन्थी दलहरु रहेको र उनीहरु सबैलाई मिलाउन गाह्रो हुने उनको भनाइ थियो । ‘नेपालमा यतिधेरै वामपन्थी पार्टीहरु छन् । सम्भावना नै छैन भनेर मैले भन्न पनि मिलेन । सम्भावना म त्यति बलियो देख्दा पनि देख्दिनँ,’– उनले भनिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको आफ्नो बारेमा गरेको टिप्पणी बारे भने भण्डारीले कुनै प्रतिक्रिया दिन चाहिनन् । उनले आफूले ओलीलाई नभेटेको धेरै दिन भएको र अन्य कुरा केही थाहा नभएको जानकारी गराईन् । ‘नेकपा (एमाले) का अध्यक्षले के–के भन्नुभएको छ ? उहाँलाई नै सोध्नु । मेरो चाहिँ धेरै दिन भयो, भेट भएको छैन,’– उनले भनिन् ।