नेताहरुलाई दुर्गा प्रसाईँको चेतावनीः मेरो पालो आएको दिन तिमीहरुले भाग्न पनि पाउँदैनौ


काठमाडौं, २ भदौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँले आफूलाई इन्काउन्टर गर्ने थाहा पाएपछि गत चैत १५ गतेको घटनापछि भागेको बताएका छन् । आज (सोमबार) आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले तीनकुनेमा भइरहेको आन्दोलनका क्रममा एक जना सिभिल प्रहरीले आएर मार्ने योजना छ भनेपछि भागेको बताएका हुन् ।

‘मलाई पुलिसकै सिभिल मान्छे आएर तपाईँलाई मार्ने योजना छ, निस्किनुस् भनेपछि म निस्किएँ । कर्फ्यू लाग्दा काठमाडौं छोडिसकेको थिएँ । मलाई इन्काउन्टर गर्ने आदेश रहेछ,’– उनले भने, ‘म त्यो दिन नभागेको थियो भने चार वटा टिम छोडेको थियो–इन्काउन्टर गर्नलाई ।’

उनले आफूलाई मार्न खोजेपछि मात्रै भागेको बताए । उनले आफूलाई नमार्ने भए कहिले पनि नभाग्ने बताए । प्रसाईँले नेताहरुलाई चुनौति दिँदै आफ्नो हातमा शासन आएपछि कसैलाई भाग्न नदिने बताए । उनले भने, ‘म शासकहरुलाई भन्छु– तिमीले मार्दैनौं भने म भाग्दिनँ । मेरो पालो आएको दिन तिमीहरु पनि भाग्न पाउँदैनौं । यो कुरा बुझ । मेरो समय आएको बेलामा । अहिले मेरो समय छैन । एक दिन नेपाली नागरिकको समय आउँछ, त्यसको नेतृत्व दुर्गा प्रसाईँले गर्छ ।’

साथै, उनले नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको हत्या गरिएको दाबी गरे । उनले मदन भण्डारीको हत्यामा संलग्न एक जना मरिसकेको र अरु भने जीवित नै रहेको उनको दाबी छ । ‘मदन भण्डारीलाई मार्ने मान्छे एक जना मरिसके, अरु जिउँदै छन् । कसको योजनामा भएको हो भन्ने समयले बताउँछ,’– उनले भने । File Photo/RN