काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्काशित महामन्त्री मुकुल ढकालले पार्टी उपाध्यक्ष स्वर्णिम वाग्लेको योजनामा रवि लामिछानेलाई फसाइएको आरोप लगाएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी उपसभापति वाग्लेलगायतले लामिछानेलाई ‘म सहकारीको सदस्य नै होइन’ भन्न लगाएर फसाइएको बताएका हुन् । लामिछानेलाई थुन्नका लागि पार्टीभित्रबाटै ग्राण्डडिजाइन गरिएको बताए ।
रवि लामिछानेलाई थुनिराख्ने, त्यसको आधारमा भोट कमाउने र भोलि आफू मन्त्री र प्रधानमन्त्री बन्ने फोहोरी राजनीतिबाहेक उपसभापति वाग्लेलगायतबाट केही पनि नभएको उनको आरोप छ । ढकालले पहिलो कुरा रवि लामिछाने आफैं दोषी रहेको र दोस्रो कुरा सल्लाह दिनेहरुले नै फसाएको बताए । उनले आफूले ऋणी कायम गरेर ऋण तिरिदिनुस् भनेर लामिछानेलाई सुझाव दिँदा नेता वाग्लेलगायतले गलत सल्लाह दिएको उनको भनाइ छ । उपसभापति वाग्ले लगायतले लामिछानेलाई उचालेर फसाउनका निम्ति सहज वातावारण सिर्जना गरेको बताए ।
‘सबैभन्दा सुरुमा उहाँको गल्ती थियो । रवि दाईलाई मैले गृहमन्त्रीको क्वाटरमा भनेको थिएँ– सहकारीसँग सम्बन्धित विषय धेरै ठूलो विषय हुँदैन । यसलाई तपाईँले आफूले आफूलाई ऋणी कायम गरेर ऋण तिरिदिनुस् । कुरो सकिन्छ भनेको थिएँ । अहिले उहाँ लगभग त्यही ठाउँमा बिगो तिर्छु भनेर आउनुभयो । स्वर्णिम वाग्लेहरुले के गरे भन्दाखेरी रवि लामिछानेलाई उचाले । म सहकारीको सदस्य छैन भन्न लगाए । सहकारीको सदस्य छैन भनेपछि त झन फस्छ नि त । सहकारीको सदस्य नभएको व्यक्तिमा कसरी पैसा पुग्यो ? म सहकारीको सदस्य हो । ऋण लिएको हो, ऋण तिर्दिन्छु भनेको भए ठूलो समस्या हुँर्दन थियो । उहाँलाई उचालेर फसाउनका निम्ति सहज वातावरण सिर्जना गरे,’– उनले भने ।
उनले रास्वपा उपसभापति वाग्लेलाई विदेशी दलालको संज्ञा दिए । वाग्लेले मनरो डक्ट्रिनको कुरा गरेको, नेपाली सेनाको संख्या घटाउनुपर्छ भन्ने कुरा गरेर राष्ट्रघाती काम भएको उनले बताए । ‘उहाँ विदेशी दलाल हो । पहिलो कुरा उहाँले मनरो डक्ट्रिनको कुरा गर्नुभएको छ । नेपाल कुनै एउटा देशको प्रभाव क्षेत्रको रुपमा सहनुपर्छ भन्नुभएको छ । नेपाली सेनाको बारेमा बोलेको संसद्मा रेकर्ड छ । उहाँले होटल एम्बास्डरमा म र शिशिर खनाललाई नेपाललाई भुटान बनाइदियो भने भारत खुसी हुन्छ भनेको हो,’– उनले भने ।
नेता ढकालले अब रास्वपा उपसभापति वाग्लेबाट अर्का उपसभापति डोलप्रसाद अर्याल खतरामा रहेको दाबी गरे । वाग्लेले ढकाललाई भिजिट भिसा प्रकरणमा फसाएर पार्टी आफ्नो कब्जामा लिन खोजेको उनको आरोप छ । ‘अब डिपी अर्याललाई पनि एक प्रकारको प्रहार भइसकेपछि । उहाँको गल्ती छ, कमजोरीमै हान्ने हो । त्यो गल्ती र कमजोरीमा उहाँलाई हानिसकेको अवस्थामा पार्टीभित्र को बाँकी रहन्छ ? पार्टी कसको कब्जामा गयो ? मुकुल ढकाल छैन, रवि लामिछाने छैन, डिपी अर्याल पनि नभएपछि पार्टी कसको कब्जामा गयो ?’ प्रश्न गर्दैै उनले भने ।




प्रतिक्रिया