उपसभामुख रानालाई हटाउन कांग्रेस-एमालेले संकलन गरे सांसदको हस्ताक्षर


काठमाडौं, ३ भदाै । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउन सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । अहिले कांग्रेस–एमाले दुवै दलले आफ्ना सांसदहरुलाई संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षर गराएको बताइएको छ । एक सांसदका अनुसार अहिले खाली पेपरमा सांसदहरुको हस्ताक्षर गराइएको छ । हस्ताक्षरको उद्देश्य उपसभामुख रानालाई हटाउनु रहेको ती सांसदले बताए ।

‘अहिले कांग्रेस–एमाले दुवै दलले आ–आफ्ना सांसदहरुलाई खाली पानामा हस्ताक्षर गराएका छन् । हस्ताक्षर संकलनको उद्देश्य उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनु हो,’– ती सांसदले भने ।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने व्यवस्था संविधानमा रहेको छ । अहिले संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व छैन ।

उपसभामुख रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयलाई लिएर उनलाई हटाउने तयारी भइरहेको बताइएको छ । उपसभामुख रानामाथि नैतिकताको प्रश्न उठाउँदै उनले राजीनामा दिएर मार्ग प्रशस्त नगरे महाअभियोगको प्रस्ताव लैजान कांग्रेस–एमाले तयार भएका हुन् ।

उपसभामुख रानालाई हटाउन गत वर्षदेखि नै कांग्रेस र एमाले लागेका थिए ।