उपसभामुख हटाउन कांग्रेस–एमालेलाई जनमत पार्टीको साथ रहन्छः डा. शरद यादव (भिडिओ)


काठमाडौं, ४ भदौ । जनमत पार्टीका प्रवक्ता डा.शरद यादवले आफूहरु सत्ता गठबन्धनकै साथमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्तावमा कांग्रेस–एमालेलाई जनमत पार्टीले साथ दिने बताएका हुन् ।

‘जनमत पार्टी सरकारमा छ । मधेश प्रदेश सरकारको नेतृत्व गरिराखेको छ । अहिले हामी सत्ता गठबन्धनकै साथमा छौं । हाम्रो साथ उहाँहरुलाई हुनेछ । दुईवटा ठूला दलले जुन किसिमको निर्णय लिनुहुन्छ, यसमा हाम्रो पार्टीले छलफल गरेर निर्णय लिन्छ । पहिला उहाँहरुको प्रस्ताव आउनु पर्यो । अहिलेसम्म आएको छैन,’– उनले भने ।

नेता डा.यादवले अहिले सत्ता गठबन्धमा आफूहरुसहित मधेशवादी दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत रहेको बताए । उपसभामुख रानाले २०७९ फागुनमा भिसा सहजीकरणका लागि नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिईन् । उनले लेखेको पत्र डेढ वर्षपछि २०८० साउनमा बाहिरिएको थियो । रानाको दल र संसद्सँग समेत सम्बन्धित नरहेका व्यक्तिको भिसा प्रक्रियाका लागि पदको दुरुपयोग भएको भन्दै त्यसबेला पनि कांग्रेससले प्रश्न उठाएको थियो । सोही पत्रलाई लिएर उपसभामुख रानालाई हटाउन यसअघि पनि प्रयास भए पनि संसद्को अङ्कगणितको कारण रोकिँदै आएको थियो ।