दलित, भूमिहीन र सुकुम्बासीलाई जग्गा दिने कुरामा माओवादीले आँखा चिम्लिएर सही गर्छः राजन दाहाल


काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले आफूहरु दलित, भूमिहीन, सुकुम्बासीहरुलाई जग्गा दिने कुरामा आफूहरु आँखा चिम्लिएर सही गर्न तयार रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेले गिरीबन्धु टी स्टेटलगायत १५४ वटा भू–माफियाहरुको कम्पनीलाई वैधता दिनेगरी अर्बौंको कमिसनमा भूमि विधेयक ल्याउन खोजेको आरोप लगाएका हुन् । यस्तो प्रकारको भूमि विधेयक माओवादीका लागि स्वीकार्य नरहेको उनको भनाइ छ ।

‘गिरीबन्धु टी स्टेटलगायत १५४ वटा भू–माफियाहरुका कम्पनी, जसले कानूनविपरीत घरजग्गा कारोबार गरिरहेका छन् । उनीहरुलाई वैधानिकता देखिएर अर्बौं कमिसन लिनेबाहेक उहाँहरुको अरु उद्देश्य नै छैन,’– उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन समयमा गिरीबन्धु टी स्टेटमा भूमि ऐन २०२१ उल्लङ्घन गरेको नेता दाहालको दाबी छ । २४७ विघा जग्गा ओलीले उतिबेरै विक्री–वितरणको अधिकार दिएकोमा अदालतले खारेज गरिदिएपपछि अहिले विधेयकमार्फत त्यसलाई वैधानिकता दिन खोजिएको उनले बताए ।

साथै, फरक प्रसंगमा उनले अहिले संसद्मा एमालेका ६० प्रतिशतभन्दा बढी सांसदहरु विद्यादेवी भण्डारकिो पक्षमा रहेको बताए । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कारबाही गर्ने डरले ती सांसदहरुले आफ्नो पक्षधरता खुलाउन नचाहिरहेको उनले बताए ।

‘संसद्मा पनि ६० प्रतिशतभन्दा बढी एमालेका सांसदहरुको लगाव विद्या कमरेडसँग छ । तर, बोल्नु भएको छैन । ओलीजीले दण्डा लगाउनुहुन्छ । त्यो दण्डा धेरै दिन टिक्दैन । अहिले विद्या कमरेडमाथिको अत्याचारलाई एमालेभित्र पनि राम्रो मानिएको छैन । हामीले पनि राम्रो मानेका छैनौं,’– उनले भने ।