मुलुकको सार्वभौमिकताको रक्षाका लागि पहलकदमी गर्न अध्यक्ष नेपालद्वारा आग्रह


काठमाडौँ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सार्वभौमिकता, भूगोलको रक्षाका लागि आवश्यक सबैखाले पहलकदमी लिन सरकारलाई आग्रह गरेका छन् ।

पार्टीको चौथो स्थापना दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले देशको सार्वभौमिकता रक्षाका लागि सम्बन्धित पक्षलाई सबैको सहकार्य र समन्वयबाट दबाब दिनुपर्ने बताउँदै नेपाली भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरूलाई समेत आह्वान गरे ।

मजदुर, किसान तथा उत्पीडित वर्गलाई राजनीतिक तथा सामाजिक अधिकार उपलब्ध गराउने उद्देश्यले कम्युनिष्ट आन्दोलनको मूल उद्देश्यले स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले चार वर्ष पूरा गरेको जनाउँदै अध्यक्ष नेपालले सम्पूर्ण पार्टी पङ्क्ति, समर्थक, शुभचिन्तकलगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राष्ट्रिय स्वाधीनता सुदृढ गर्दै जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र जनजीविकाको प्रश्नलाई प्रमुख ‘एजेण्डा’ बनाउँदै आएको एकीकृत समाजवादीले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई आफ्नो आधार मानेर श्रमिक–किसान, दलित, महिला, उत्पीडित तथा अवसरबाट वञ्चित वर्गको हितमा दृढतापूर्वक अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

समाजवाद उन्मुख लोकतन्त्रलाई मजबुत पार्ने, समतामूलक समाज निर्माण गर्ने र गरिब, किसान तथा उत्पीडित वर्गको अधिकारलाई संस्थागत गर्ने सङ्कल्प गर्नुपर्ने बताउँदै उनले कम्युनिष्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गरी आन्दोलनलाई शुद्धीकरण तथा एकीकरण गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, समानता र शोषणमुक्त समाजवादी व्यवस्था स्थापना गर्नु अहिलेको आवश्यकता भएको बताए । रासस

Skip This

Omoda E5 Pro