रूबीको हत्या स्वीकार गर्दै आफ्नै शरीरमा आगो लगाएका लक्ष्मणको मृत्यु


काठमाडौं, ११ भदौ । रुबी साहको हत्या आफूले गरेको स्वीकार गर्दै आफ्नै शरीरमा आगो लगाएका लक्ष्मण पासवानको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

रौतहट, माधवनारायण–६ की साहको गत भदौ ८ गते रौतहटको गौर नगरपालिका– ९ गौर सिर्सिया सडक खण्डअन्तर्गत मुडवालवा मोडमा सुटकेशभित्र शव फेला परेको थियो । रूबीलाई आफूले मारेको स्वीकार गरी लक्ष्मणले आफू पनि नबाँच्ने भन्दै आफ्नै शरीरमा आगो लगाएका थिए । उनले आफ्नो शरीरमा आगो लगाउनुअघि भिडियो बनाएका थिए ।

लक्ष्मणले रूबीसँग आफ्नो प्रेम सम्बन्ध रहेको कुरा पनि खुलाएका थिए । उनले त्यो दिन रूबी व्युटीपार्लरबाट आफ्नो कोठामा आएको र एकअर्का विना बाँच्न नसक्ने संवाद गरेको उल्लेख गरेका थिए । लक्ष्मणले रूबीसँग स्कुलदेखि नै आफ्नो प्रेम सम्बन्ध रहेको र आफूहरुले अदालतमा गएर विवाह गरेको समेत बताएका थिए । लक्ष्मण आफ्नो शरीरमा आगो लगाएको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि विहान भेटिएका थिए ।