काठमाडौं, ८ असोज । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेन–जी आन्दोलनका क्रममा गोली हान्न आदेश दिनेहरुमाथि कारबाही नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आज (बुधबार) विहान बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग दुई घण्टा लामो छलफल गरेका बालेनले जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछि उनीहरुमाथि नभएको कारबाहीको बारेमा विशेष चासो देखाएका थिए ।
उनले गत भदौ २३ गते जेन–जी प्रदर्शनकारीमाथि गोली चलाउने र गोली चलाउन आदेश दिनेमाथि छानविन गर कारबाहीको लागि प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको बताइएको छ । बालेनले जेन–जीका मागहरु सम्बोधन गर्नुपर्ने विषयमा पनि प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।
‘सरकार गठन भएको यतिका दिन भइसक्दा पनि गोली चलाउनेहरू र आदेश दिनेहरू अहिलेसम्म पक्राउ नपरेको भन्दै उहाँ (बालेन) ले प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउनु भयो । उहाँले जेन–जी आन्दोलनका पीडित परिवारहरुमा असन्तोष बढ्दै गएको बारेमा पनि प्रश्न पठाउनुभएको छ,’– बालेननिकट स्रोतले रिपोर्टर्स नेपालसँग भन्यो ।
जवाफमा प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको मागप्रति आफू गम्भीर र विशेष चनाखो रहेको बताएकी थिईन् । उनले सो आन्दोलनको दोषी कसैले पनि उन्मुक्ति नपाउने आश्वासन दिएको बताइएको छ ।




प्रतिक्रिया