देउवाकै अनुहार बोकेर कांग्रेस निर्वाचनमा जान सक्दैनः गुरुराज घिमिरे (भिडिओसहित)

‘पार्टीलाई सीमित व्यक्तिहरुको मुठ्ठीमा कैद गराएर आरजुले हामीमाथि अन्याय र विभेदको दण्डा चलाउनुभयो’


काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाकी श्रीमती एवं केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टीलाई सीमित व्यक्तिको मुठ्ठीमा कैद गराएर आफूहरुमाथि अन्याय र विभेदको दण्डा चलाइएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘उहाँ (आरजु) ले अगाडिदेखि नै हामीमाथि अन्याय र विभेदको दण्डा चलाउनुभयो । पार्टीलाई सीमित व्यक्तिहरुको मुठ्ठीमा कैद गरेको परिणाम त हो नि अहिले आएको ।’

नेता घिमिरेले अहिलेको विषम परिस्थितिमा विधानमा भएको व्यवस्थाबमोजिम विशेष महाधिवेशनको विकल्प नरहेको बताए । अहिलेकै अनुहार (शेरबहादुर देउवा) लाई बोकेर आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा जान नसकिने उनको भनाई छ । विशेष महाधिवेशनको आह्वान गर्दा कसैले आपत्ति जनाउनुपर्ने आवश्यकता नरहेको उनले बताए । विशेष महाधिवेशनको मागलाई कसैले पनि अन्यथा लिन नहुने उनको भनाइ छ ।

नेता घिमिरेले अब कांग्रेसका नेताहरु कुम्भकर्ण निद्राबाट व्युँझिन आवश्यक रहेको बताए । अहिलेसम्मको राजनीतिक घटनाक्रमहरुको समीक्षा, त्यसको बारेमा छलफल गरेर एउटा निकास निकाल्नुपर्ने उनले आवश्यकता औंल्याए । राजनीतिक दलको गतिविधि, क्रियाकलाप, कार्यसम्पादन र प्रवृत्तिबाट वाक्क भएर जनताले बाध्यात्मक रुपमा जेन–जी पुस्ताको आन्दोलनको माध्यमबाट समग्र जनभावना व्यक्त गरेको उनले बताए । राजनीतिक दलले समयमै ध्यान पुर्याउन नसक्दा अहिलेका घटनाक्रमहरु भएको उनको दाबी छ ।

‘जनताको मनोभावना बुझेर अगाडि बढ्नु्पर्छ भन्ने होुस् अहिले पनि आएकै छैन । हामीले विशेष महाधिवेशन मागेकै के हो भने– एउटा वैधानिक थलोमा हामी भेला हौं । देशभरीका सरोकारवालाहरु भेला भएर अहिलेको परिस्थितिको विवेचना गरौं र अगाडि हिँड्ने बाटो खोजौं हामीले भनेको हो,’– उनले भने ।