विषम परिस्थितिमा राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ १० असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको विद्यमान समस्या समाधान गर्न राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् । पूर्वराष्ट्रपति भण्डारीद्वारा आयोजित ‘भदौ २३ गतेको प्रदर्शन र भदौ २४ गतेको दिन घटेको विध्वंशात्मक घटनापश्चात मुलुकमा उत्पन्न परिस्थिति’ विषयक अन्तर्त्रियामा उनले राजनीतिक दल र विभिन्न आस्था राख्नेहरूबीच समन्वय भएर नै अहिलेको समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले सधैँ अहिलेको अवस्थामा मुलुक रहिरहन नसक्ने भन्दै यसको समाधान गरेर जानुपर्ने बताईन् । मुलुकका शक्तिका स्रोत भनेका जनता रहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूले आफ्नो दर्शन, सिद्धान्त, नीतिअनुसार काम गरे वा नगरेको बारेमा जान्न जनतामाझ जानुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले मुलुक सङ्कटमा परेकाले राष्ट्रिय एकता आवश्यक रहेको बताए । उनले निर्धारित समयमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनुपर्ने बताए ।