काठमाडौं, १३ असोज । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सत्ताको चाकरी गरेर उपल्लो दर्जा पाईन्छ भनेर कोही लागेको भए त्यस्तो काममा नलाग्न आग्रह गरेका छन् । उनले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका सवालमा विदेशी दलालहरुको विरोध गर्दै बोलेको कारण सजाय दिने कसैले सोचेको भए त्यो सोच हावामा बनाएको महल हुने टिप्पणी गरेका छन् ।
बस्नेतले फेशबुकमा लेखेका छन्–लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका सवालमा विदेशी दलालहरूको विरोध गर्दै बोलेको कारण यदि कसैलाई सजाय दिनुपर्छ भन्ने सोच्छन् भने, त्यो सोच हावामा बनाएको महल हो। आज हामी ‘जेनजीको रगतमा होली खेलेर आएको सरकारका प्रतिनिधि हौं’ भन्ने भ्रममा रमाइरहेका छौँ । कोही त्यो भ्रममा अल्झिएर सत्ताको चाकरी गरेर उपल्लो दर्जा पाइन्छ भनेर लागेका छन् भने, त्यस्तो काममा नलाग्दा राम्रो। घुमी–फिरी रुम्जाटार भनेझै भाइको पालामा ‘बुहारी नाच्छिन्’ मक्ख पर्नु पर्दैन, किनभने दाइको पालो आएपछि भाउजु पनि तीन बित्ता उफ्रेर नाच्छिन्। पृथ्वी गोलो छ । आज जो माथि छ, भोलि त्यो तल अबस्य पर्नेछ।’




प्रतिक्रिया